एजेन्सी, भदौ ४ । माउन्टेन म्यान भनेर चिनिने दशरथ माझीको परिवारले नयाँ घर पाएका छन । कांग्रेस नेता राहुल गान्धीले गयाजीस्थित खालिस पार्कमा आयोजित मतदाता अधिकार यात्राको जनसभामा दिवंगत दशरथ माझीका परिवारलाई नयाँ घरको साँचो हस्तान्तरण गरेका छन्।
जनसभामा उपस्थित हजारौँ सर्वसाधारणको बीच राहुल गान्धीले प्रदेश कांग्रेसका अध्यक्ष राजेश राम र नेता मोहन श्रीवास्तवसँगै संयुक्त रूपमा दशरथ माझीका पुत्र भागीरथ माझीलाई घरको साँचो बुझाए।
ज्ञातव्य होस, दशरथ माझीले आफ्नो जीवनमा गयाको पहाड काटेर गाउँसम्मको बाटो बनाएका थिए, जसका कारण उनी भारतमा साहस र दृढसंकल्पका प्रतीक बनेका थिए। गरीब र सामान्य जीवन बिताएका माझीका परिजन विगतदेखि नै उचित आवासविहीन थिए।
पछिल्लो महिना राहुल गान्धी गयाजी पुगेका बेला उनले माझी परिवारसँग भेटघाट गरेका थिए। त्यतिबेला उनले परिवारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। भेटपछि गान्धीले कांग्रेस पार्टीमार्फत माझी परिवारका लागि घर बनाइदिने घोषणा गरेका थिए। सोही प्रतिबद्धताको क्रममा घर निर्माण कार्य सम्पन्न भई सोमबारको कार्यक्रममा चाबी हस्तान्तरण गरिएको हो।
राहुल गान्धीले कार्यक्रममा सम्बोधन गर्दै भने, “दशरथ माझीले आफ्नो पसिना र संकल्पले असम्भवलाई सम्भव बनाए। त्यस्तो व्यक्तिको परिवारलाई सम्मान गर्न पाउनु हाम्रो जिम्मेवारी हो।” उनले कांग्रेस पार्टी सधैँ गरीब र वंचितको पक्षमा रहने उल्लेख गरे।
यस अवसरमा कांग्रेसका अन्य नेताहरूले पनि माझी परिवारलाई सम्मान गर्दै समाजका प्रेरणादायी पात्रहरूको योगदानलाई राजनीतिको माध्यमबाट जनतासम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए।




