बिहारलाई प्रधानमन्त्री मोदीको अर्को ठूलो उपहार : अजगैबीनाथ धामदेखि देवघरसम्म नयाँ रेलमार्गको घोषणा



एजेन्सी, भदौ ६ । बिहारलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को ठुलो उपहार प्रदान गरेको छ। महत्वपूर्ण विकास परियोजना अन्तर्गत भागलपुरको अजगैबीनाथधाम (सुल्तानगंज)देखि झारखण्डको देवघरस्थित बैद्यनाथधामसम्म नयाँ रेलमार्ग बिछाइने भएको छ । करिब २५ वर्षदेखि रोकिएको यो सपना अन्ततः पुरा हुन लागेको छ।

यो रेलमार्ग बनेपछि उत्तरवाहिनी गंगाको तटमा रहेको अजगैबीनाथधाम र द्वादश ज्योतिर्लिङ्गमध्ये एक बाबा बैद्यनाथधामबीच सीधा सम्पर्क स्थापित हुनेछ। यसले धार्मिक पर्यटक तथा स्थानीय बासिन्दाको लामो प्रतिक्षा समाप्त गर्ने अपेक्षा गरिएको छ।

गोड्डाका सांसद डा. निशिकान्त दुबेले लामो समयदेखि यस परियोजनाको पहल गर्दै आएका थिए । उनले रेल मन्त्रालयसँग निरन्तर संवाद गरी प्रधानमन्त्रीलाई यसको महत्वबारे जानकारी दिएका थिए । दुबेले भने– “पूर्व रेल राज्यमन्त्री दिग्विजय सिंहले देखेको यो सपना प्रधानमन्त्री मोदीले पुरा गर्नुभएको छ । मोदी छन् भने सम्भव छ ।”

यस परियोजनाबाट अंग प्रदेश र संताल परगना क्षेत्रमा बसोबास गर्ने लाखौँ जनता प्रत्यक्ष लाभान्वित हुने सांसद दुबेको विश्वास छ। उनले उपमुख्यमन्त्री सम्राट चौधरीलाई बधाई दिँदै रेल मन्त्री अश्विनी वैष्णवलाई पनि जनताका तर्फबाट धन्यवाद ज्ञापन गरे।

यससँगै यातायात पूर्वाधारमा पनि केन्द्र सरकारले ठूलो पहल गरेको छ। बाराहाटदेखि कहलगञ्जसम्मको १६ किलोमिटर लामो सडकलाई राष्ट्रिय राजमार्ग (एनएच) घोषणा गरिएको छ। यसलाई दुई लेनमा विस्तार गर्ने स्वीकृति दिइएको छ। त्यस्तै, गोड्डादेखि बांका जिल्लाको ढाकामोडसम्म नयाँ एनएच बन्नेछ, जसले भागलपुर–भलजोर (हंसडीहा) फोरलेनसँग जोडिनेछ।

एकचारी–महगामा फोरलेन सडक पनि मुंगेर–मिर्जाचौकी फोरलेन तथा एनएच–८० सँग जोडिनेछ। साथै, यो सडक अमडन्डा–सनहौला सडकसँग पनि जोडिने भएकाले क्षेत्रीय यातायात सहज हुनेछ। साहेबगंज गंगा पुल बनेपछि झारखण्डको ठूलो भूभाग उत्तर–पूर्व क्षेत्रसँग जोडिनेछ।

यी परियोजनाबाट यातायात सुगम हुने मात्र होइन, व्यापार र उद्योगमा समेत नयाँ सम्भावना खुल्नेछ। रेल र सडक दुवै परियोजनाले सामान ढुवानी सस्तो बनाउने भएकाले कृषकलाई बजारसम्म उत्पादन पु¥याउन सहज हुनेछ। यसले कृषकलाई प्रत्यक्ष आर्थिक फाइदा दिने अपेक्षा गरिएको छ।

भागलपुरमा बन्ने सिक्स लेन पुलले उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रसँगै झारखण्ड र पश्चिम बंगालसम्मको सम्पर्क बढाउनेछ। मुंगेर–मिर्जाचौकी फोरलेन गोरखपुर एक्सप्रेस–वेमा जोडिएपछि झारखण्ड र बिहारका धेरै स्थानको दूरी घट्नेछ। देवघर एम्स र एयरपोर्टसम्म पुग्न साहेबगंज र भागलपुर जिल्लाका बासिन्दालाई ठूलो सुविधा हुने देखिन्छ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको