भूमि विधेयक विरुद्ध देशव्यापी प्रदर्शन गर्ने जसपा नेपालको निर्णय



जनकपुरधाम, भदौ ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयक विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

जसपा नेपालका महासचिव लालबाबु राउतले प्रेस विज्ञप्ति जारी गरि मधेशको हित विपरित रहेको भुमि विधेयकको विरोध स्वरुप भाद्र ९ देखि १५ गतेसम्म विभिन्न प्रमुख शहरहरूमा व्यापक विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाइएको छ।

पार्टीले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट ५ भदौमा अघि बढाइएको भूमि विधेयकलाई जनविरोधी भन्दै आलोचना गरेको छ। जसपाका अनुसार प्रस्तावित विधेयकले सामान्य किसान, भूमिहीन र सीमान्तकृत समुदायको हित रक्षा गर्नुभन्दा उल्टो भू–माफिया र जग्गा दलाललाई फाइदा पु¥याउने व्यवस्था समावेश गरिएको छ। विज्ञप्तिमा मधेश र तराई क्षेत्रमा यो विधेयक लागू भए मरुभूमिकरणको खतरा बढ्ने चेतावनी दिइएको छ।

जसपाले भूमि सम्बन्धी अध्यादेशकै प्रावधानहरूलाई जस्ताको तस्तै समेटेर विधेयक तयार पारिएको आरोप लगाउँदै यस्तो कदमले किसान र सर्वसाधारणको जीवनस्तर झन् जटिल बनाउन सक्ने जनाएको छ। भूमिसम्बन्धी समस्यामा दीर्घकालीन समाधान ल्याउनुपर्ने बेला उल्टै जनताविरोधी प्रावधानहरू समेटिएको भन्दै पार्टीले असन्तोष व्यक्त गरेको हो।

विरोध कार्यक्रममार्फत पार्टीले जनतालाई लामबद्ध गर्दै विधेयक सच्याउन सरकारलाई दबाब सिर्जना गर्ने चेतावनी दिएको छ। जसपाले आफ्नो आन्दोलन शान्तिपूर्ण तर व्यापक हुने र यसमा सबै वर्गको सहभागिता रहने जनाएको छ। पार्टीले भूमिसम्बन्धी कानुन किसानमुखी र सर्वसाधारणको हितअनुकूल बन्नुपर्ने माग गर्दै सरकारले विधेयक फिर्ता नलिँदासम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ।

यसरी, जसपाले भूमि विधेयकलाई किसान र भूमिहीनका लागि घातक ठहर गर्दै देशव्यापी जनप्रदर्शनको तयारी गरेको छ, जसको मुख्य उद्देश्य विधेयक फिर्ता गराउन सरकारमाथि दबाब बढाउनु हो।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिवार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको