राजदका प्रभावशाली नेताका भाईमाथि गोली प्रहार



एजेन्सी
सिवान , भदौ १० । राजदका प्रभावशाली नेता अनिल सिंहका भाई मनोजकुमार सिंहमाथि सोमबार साँझ अज्ञात समूहले गोली प्रहार गरेका छन । बिहार सिवान जिल्लाको रघुनाथपुर थाना क्षेत्रअन्तर्गत संठी गाउँमा भएको उक्त गोलीकाण्डले स्थानीय क्षेत्रमा आतंक मच्चिएको छ ।

जानकारी अनुसार राजद नेता तथा पूर्व जिल्ला परिषद् सदस्य अनिल सिंहका भाई मनोज कुमार सिंह पतार बजारबाट मोटरसाइकलमा घर फर्किँदै गर्दा संठी गाउँ पुग्नेबित्तिकै मोटरसाइकलमै आएका बदमाशले उनलाई लक्षित गर्दै गोली चलाएका थिए। गोली उनको छाती र पेटमा लाग्दा उनी गम्भीर घाइते भएका छन् । स्थानीय बासिन्दाले तत्काल उद्धार गरी उनलाई सामुदायिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि चिकित्सकले गम्भीर अवस्था देखाउँदै सदर अस्पताल सिवान रेफर गरेका छन्।

गोलीको आवाज सुनिएपछि गाउँमा अफरातफरी मच्चिएको थियो। ग्रामीणहरू घटनास्थलमा जम्मा भई घाइतेलाई तत्काल अस्पताल पुर्याउन सहयोग गरेका थिए। घटनापछि आक्रोशित जनसमुदायले अपराधीहरूलाई शीघ्र पक्राउ गर्न माग गरेका छन्।

स्थानीय स्रोतले बताएअनुसार बदमाशहरूले मनोजलाई पतार बजारदेखि नै पछ्याइरहेका थिए। संठी गाउँको प्रवेशद्वार नजिकै पुग्दा उनीमाथि हमला गरिएको अनुमान गरिएको छ। गोली हानिसकेपछि बदमाशहरू तीव्र गतिमा फरार भएका थिए। घटनास्थलमा उपस्थित व्यक्तिहरूले बदमाशको संख्या स्पष्ट देख्न नसकेको जनाएका छन्।

घटनापछि रघुनाथपुर प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक विजयकुमार चौधरीले घटना गम्भीर भएको बताउँदै अपराधीको खोजी तीव्र गतिमा भइरहेको जनाए। उनले भने, “अपराधीहरूको पहिचानका लागि अनुसन्धान भइरहेको छ। सम्भावित आश्रयस्थलहरूमा छापामारी भइरहेको छ।”

मनोज कुमार सिंह हाल अस्पतालमा उपचाररत छन्। चिकित्सकले अवस्था गम्भीर भए पनि नियन्त्रणमा रहेको बताएका छन्। गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनापछि स्थानीय बासिन्दा सतर्क बनेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको