एजेन्सी, भदौ १३ । गाजा पट्टीको सबैभन्दा ठूलो शहर गाजा सिटीमा इजरायली सेनाको सैन्य अभियान जारी रहेको छ । बिहीबार राति भएको हवाई आक्रमणमा मात्र १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
इजरायली बमबारी र गोली प्रहारबाट पूरा फलस्तिनी क्षेत्रमा अहिलेसम्म ७१ जनाको ज्यान गएको छ। त्यस्तै, गाजाको दक्षिणी भागमा रहेको राहत वितरण केन्द्रमा खाना लिन पुगेका नागरिकमाथि इजरायली फायरिङ हुँदा ४ जनाको मृत्यु भएको र २७ जना घाइते भएको पुष्टि भएको छ।
इजरायली सेनाले जारी वक्तव्यमा भनेको छ कि गाजामा रहेको हमास र अन्य आतङ्कवादी संरचना पूर्णरूपमा ध्वस्त पार्ने उद्देश्यले सैन्य अभियान चलाइएको हो। यद्यपि, अहिलेसम्म गाजा सिटीमाथि पूर्ण कब्जा मिल्न सकेको छैन।
गाजामा जारी संघर्षका कारण स्थानीयवासीको जीवन कष्टकर बनेको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र मानवीय सहायता सुनिश्चित गर्न आग्रह गर्दै आएका छन्।






