एजेन्सी, भदौ १५ । कांग्रेस नेता राहुल गाँधीले दरभंगामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको विरोध गर्दै बिजेपी कार्यकर्ताहरुले बेगुसराय र कैमुरमा काँग्रेस कार्यालयमाथि आक्रमण गरेका छन ।
राहुलको अभिव्यक्तिको विरोभमा बिजेपी कार्यकर्ताहरु चुनावी राजनीतिक रंग दिदै बेगुसरायदेखि पटना हुँदै लखनऊसम्म विरोध प्रदर्शन तीव्र पारेका छन ।
बेगुसरायमा बीजेपी नेताहरू र कार्यकर्ताले कांग्रेस कार्यालयमा प्रवेश गर्दै व्यापक तोडफोड गरेका छन । यता पटना स्थित गाँधी मैदानमा सांसद, विधायकसहित बीजेपी नेताहरू मौन धरनामा बसे भने लखनऊमा पनि भाजपा कार्यकर्ताले सडकमा उत्रँदै “राहुल गाँधी मुर्दाबाद” को नारा सहित कांग्रेस मुख्यालयसम्म मार्च गरेका थिए।
पटनाका विभिन्न ठाउँमा राहुल गाँधी र तेजस्वी यादवविरुद्ध ठूला पोस्टर टाँसिएका छन्, जसमा प्रधानमन्त्री मोदी र उनकी आमाको अपमान गरेको आरोप लेखिएको छ। यसैबीच, मुजफ्फरपुर अदालतमा राहुल गाँधी, तेजस्वी यादव र कांग्रेस–राजद कार्यकर्तामाथि मुद्दा दायर गरिएको छ, जसको सुनुवाइ ११ सेप्टेम्बरमा तोकिएको छ।
क्यामुर जिल्लाको भभुआमा दर्जनौँ बीजेपी कार्यकर्ताले कांग्रेस कार्यालयमै पसेर तोडफोड र कुटपिट गरेका छन्। अचानक भएको यो घटनापछि कांग्रेस कार्यकर्ताहरू आक्रोशित हुँदै जिल्ला मुख्यालयमा ठूलो संख्यामा भेला भएर विरोध प्रदर्शन गरेका थिए।
सूत्रका अनुसार भाजपा कार्यकर्ता पार्टीको झण्डा हातमा लिएर कांग्रेस कार्यालय पसे र “राहुल गाँधी मुर्दाबाद, कांग्रेस मुर्दाबाद” का नारा लगाउँदै उत्पात मच्चाए। यस क्रममा डा. भीमराव अम्बेडकरको तस्वीर समेत भित्ताबाट उखालेर फ्याँकिएको तथा कांग्रेस कार्यकर्तासँग कुटपिट भएको बताइएको छ।
कांग्रेस कार्यकर्ताहरूले भभुआ नगर थानामा लिखित उजुरी दिएका छन्। उनीहरूले आरोप लगाए कि यो हमला योजनाबद्ध थियो र लोकतन्त्रमा यस किसिमको गुण्डागर्दी सह्य हुने छैन। कांग्रेस कार्यालय सचिव महेन्द्र रामले भने– “बीजेपी कार्यकर्ताले कार्यालय भित्र पस्दै अम्बेडकरजीको तस्वीरसम्म तोडे। दोषीमाथि कडा कारबाही हुनुपर्छ।”
राहुल गाँधीको विवादित अभिव्यक्तिबाट सुरु भएको यो बबाल अब प्रत्यक्ष कांग्रेस–बीजेपी टकरावमा परिणत भएको छ। भभुआको घटनापछि कांग्रेस कार्यकर्तामा आक्रोश चुलिएको छ भने भाजपा तर्फबाट आधिकारिक प्रतिक्रिया आएको छैन। विश्लेषकहरूका अनुसार यो विवादको असर आगामी बिहार चुनावमा प्रत्यक्ष देखिन सक्छ।






