राजिनामा मांगिएपछि सिकेको स्ट्याटस , नेता कार्यकर्ताको ध्यान भडकाउने षडयन्त्र



जनकपुरधाम, असोज ३ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेता कार्यकर्ताको ध्यान भडकाउन आफुहरुको राजिनामा मांग गरिएको बताएका छन ।
पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खान सहित पाँच जना नेताले अध्यक्ष राउत र उनका दाई एवं संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टा भित्र राजिनामा दिन मांग गरेको केही घण्टा भित्रै अध्यक्ष राउतले समाजिक संजाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन ।
आफनो सचिवालयको फेसबुक पेज मार्फत प्रतिक्रिया जनाएका राउतले लेखेका छन ,‘ प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ। ’
आफुले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पारेका अध्यक्ष राउतले राजिनामा मांग्नेहरुलाई सामूहिक रुपमा पार्टी छोडि शुद्धि करणमा सहयोग गर्न अपील समेत गरेका छन ।

अगाडी उनले लेखेका छन ,‘ कृपया राजीनामा दिँदा आधिकारिक हस्ताक्षर भएको राजीनामा [email protected] मा वा पार्टी कार्यालयमा आएर दिनुहोला। तपाईंहरूलाई पछि सहज हुनेछ।
डा. सी. के. राउतको : I am sorry! ल मैले सकिन, राजीनामा दिएर बाटो छोडिदिएँ, तपाईं नै गरेर देखाउनोस् ! शुभकामना’

राउतले अर्को स्टाटस लेख्दै भनेका छन ,‘ फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको छ ।’
त्यस्तै उनले यो निर्वाचन आफूहरुको लागि महाभारत र अग्निपरीक्षा भएको भन्दै निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न कार्यकर्तालाई आग्रह समेत गरेका छन ।

‘हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचन पछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ ।’उनले भनेका छन

सिकेको स्टाटस पछि राजिनामा मांग गरेका नेताहरुले पार्टीबाट राजिनामा दिने तैयारीमा जुटेको स्रोतले बताएका छन ।
राजिनामा मांग गरेकाहरु मध्ये एक जनाले मधेश टुडे संग कुरा गर्दै जेनजी आन्दोनलमा भावना विपरित हामी पुरानै नेतृत्वलाई मान्न सक्दैनौ बरु हामी नै राजिनामा गर्छौ र नयाँ शिरा बाट अघि बढछौ । युवा नेतृत्व अहिले मांग रहेको उनको कथन ।
बरिष्ठ उपाध्यक्ष सहितका नेताहरुले दिन लागेको राजिनामाले जनमत भित्र ठुलो प्रभाव पार्ने राजनीति जानकारहरुले बताउन थालेको छ ।
जनमत भित्रको पछिल्लो किचलोलाई कतिपय राजनीतिक जानकारहरुले मधेश प्रदेश सरकार संग पनि जोडेर हेर्नु पर्ने बताउछन ।

पार्टीले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह पनि उनले राजिनामा नदिने बरु विश्वासमतको फेस गर्ने बताई रहेको बेलामा बरिष्ठ उपाध्यक्ष सहितका नेताहरुले अध्यक्ष राउतकै राजिनामा मांग गरेको हुन ।

प्रकाशित मिति: २०८२ आश्विन २, बिहिवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको