काठमाडौं , असोज २४ । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोबाट सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम पूरा नभएपछि आज दिउँसो एक बजे बैठक जारी राख्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रममा केन्द्रित छलफल भइरहेको छ। प्रवक्ता महतका अनुसार, बैठकमा मुख्य रूपमा वर्तमान राजनीतिक परिवेश, मुलभूत चुनौतीहरू, लोकतान्त्रिक मूल्य संरक्षण र देशलाई स्थिर बनाउने उपायमा छलफल भइरहेको छ।
‘यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र आत्मविश्वासका साथ सकारात्मक परिस्थिति विकास गर्ने भन्नेबारे कुरा उठाइएको छ,’ महतले भने।
त्यस्तै, बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका लागि समान धारणा विकास गर्ने विषयमा पनि छलफल भइरहेको छ।






