एजेन्सी, कात्तिक २२ । बिहारको मुख्यमन्त्री नितिश कुमारले २००५ अघि बिहारमा डर र अपराध रहेको भन्दै अब विकासै विकास रहेको बताएका छन ।
बिहार प्रदेशसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदान अघि शुक्रबार मुख्यमन्त्री नीतीश कुमारले वाल्मीकिनगरको हरनाटाँडमा एक विशाल जनसभा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सभामा उनले जेडीयूका उम्मेदवार धीरेन्द्र प्रताप उर्फ रिंकू सिंहलाई मत दिन आग्रह गरे।
मञ्चमा मन्त्री विजय चौधरी र सांसद सुनील कुमार पनि उपस्थित थिए।
मुख्यमन्त्री नीतीशले भने, “वाल्मीकिनगर प्राकृतिक सम्पदाले भरिपूर्ण भूमि हो। यो जंगल, पहाड र नदीहरूको संगम क्षेत्र हो। हाम्रो सरकारले यहाँ इको–टुरिज्म प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको छ।”
उनले बताएअनुसार सडक र मदनपुर–पनियहवा मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ।
नीतीशले थपे, “डबल इञ्जिनको सरकारको प्रयासले वाल्मीकिनगर र पुरै पश्चिम चम्पारणमा विकासको गङ्गा बगिरहेको छ।”
मुख्यमन्त्रीले स्मरण गरे, “२००५ अघि बिहारमा डर र अपराधको वातावरण थियो। कुनै विकासको काम हुँदैनथ्यो। तर अहिले सडक, शिक्षा, सिँचाइ र रोजगारी सबै क्षेत्रमा ऐतिहासिक सुधार आएको छ।”
उनले जनतालाई आग्रह गर्दै भने, “एनडीएका उम्मेदवार रिंकू सिंहलाई जिताउनुहोस् ताकि विकासको यो गति निरन्तर रहोस्।”
सभाका क्रममा बसपा नेता वैधनाथ उरांव र आरजेडी नेता हेमन्त ९सुमन्त० कुमार महतोले मुख्यमन्त्री नीतीशको उपस्थितिमा जेडीयूको सदस्यता ग्रहण गर्दै रिंकू सिंहको समर्थन घोषणा गरे।
वाल्मीकिनगरबाट हालका विधायक धीरेन्द्र प्रताप उर्फ रिंकू सिंह लगातार दुईपटक विजयी भइसकेका छन्।
उनको पक्षमा केही दिनअघि बीजेपी सांसद मनोज तिवारीले रोड शो गरेका थिए, जबकि कांग्रेस नेतृ प्रियंका गान्धीले महागठबन्धनका पक्षमा सभा गरेकी थिइन्।
अब मुख्यमन्त्री नीतीश कुमारको आगमनसँगै यो सिट एनडीएका लागि झन् बलियो मानिएको छ।
सभाको अन्त्यमा मुख्यमन्त्रीले जनतालाई सम्बोधन गर्दै भने, “एनडीए उम्मेदवार रिंकू सिंहलाई भारी मतले जिताउनुहोस् र विकसित बिहारको सपना पूरा गर्नुहोस्।






