काठमाडौं ,कात्तिक २५ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरू नेपाली कांग्रेसको नेतृत्व मा सरकार गठन गर्न सहमति गरे आफू राजीनामा दिन तयार रहेको बताएका छन् । मंगलबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले यस्तो कुरा बताएका हुन् ।
उनले भने, ‘म संवैधानिक बाध्यतावश मुख्यमन्त्री भएको हो । मुख्यमन्त्री बन्ने मेरो इच्छा पनि थिएन । म अरु पार्टीहरूको नेतालाई मुख्यमन्त्री बनाउने सहमति पनि गरेको थिए । तर, वर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलज्यूले विश्वासको मत लिन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले मलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।’
आफू संवैधानिक हिसाबले मुख्यमन्त्री भएको दाबी गर्दै उनले भने, ‘अझै केही बिग्रेको छैन । दलहरूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भए म राजीनामा दिएर मार्गप्रशस्त गर्न सक्छु ।’ उनले तत्काल कांग्रेसबाहेक अरु दललाई नेतृत्व दिने विषयमा नसोचेको बताए ।
उनले आफू आज काठमाडौं जान लागेको समेत बताए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि मधेश सरकार गठनको विषयमा कन्सर्न राख्नुभएको छ । त्यसकारण म काठमाडौं जाँदै छु र त्यहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापतिजीसँग पनि भेटघाट गर्छु र सरकार गठनको विषयमा जानकारी गराउँछु’, उनले भने ।






