एजेन्सी, कात्तिक २६ । बिहार विधानसभाको दुवै चरणको मतदान सम्पन्न भएसँगै विभिन्न एक्जिट पोलले बिहारमा पुनः एनडीए सरकार बन्ने संकेत गरेको छ । एक्जिट पोलले तेजस्वीलाई ठुलो झटका लागेको छ । पहिलो चरणको मतदान नोभेम्बर ६ र दोस्रो चरणको मतदान नोभेम्बर ११ मा सम्पन्न भएको थियो। मतगणना आउँदो नोभेम्बर १४ मा हुनेछ।
मार्टिज आईएएनएसद्वारा सार्वजनिक एग्जिट पोलका अनुसार एनडीएले १४७ देखि १६७ सिटसम्म जित्ने अनुमान गरिएको छ। महागठबन्धनले ७० देखि ९० सिटसम्म पाउन सक्ने देखाइएको छ। अन्य दलहरूले करिब १५ प्रतिशत मत पाउने सम्भावना छ।
जेभीसी एग्जिट पोलमा एनडीएलाई १३५ देखि १५० सिटसम्म र महागठबन्धनलाई ८८ देखि १०३ सिटसम्म पाउने अनुमान गरिएको छ।
त्यस्तै, पीपल्स इन्साइटको एग्जिट पोलमा एनडीए १३३–१४८ सिट, महागठबन्धन ८७–१०२ सिट, जन सुराज ०–२ सिट र अन्य ३–६ सिट पाउने सम्भावना देखाइएको छ। यी अनुमानले मुख्यमन्त्री नितीश कुमारको नेतृत्वमा एनडीए फेरि सत्तामा फर्किने सम्भावना बलियो देखिन्छ।
देशका दुई प्रमुख सर्वेक्षण संस्था एक्सिस माई इन्डिया र टुडे चाणक्यले आफ्नो एग्जिट पोलको नतिजा भोलि, नोभेम्बर १२ मा सार्वजनिक गर्नेछन्। यी दुई एग्जिट पोलका परिणामले बिहारको राजनीतिक रुझानमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।
सन् २०२० को बिहार विधानसभा चुनावमा एनडीएले १२५ सिट जित्दै सरकार बनाएको थियो। त्यसबेला भाजपा ७४, जेडीयू ४३, वीआईपी र हम ४–४ सिटमा सीमित भएका थिए।
महागठबन्धनले ११० सिट जितेको थियो जसमा आरजेडी ७५ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो।




