एजेन्सी, कात्तिक २९ । बिहारमा सम्पन्न २०२५ को विधान सभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा बनेको एनडीए गठबन्धनले ऐतिहासिक जीत दर्ता गर्दै बिहारको राजनीतिक समीकरण नै फेरिदिएको छ।
एनडीएले कुल २०२ सिट जित्दै २०१० पछि सबै रेकर्ड तोडेको छ। तीमध्ये ८९ सिटमा भाजपा जितेका छन भने ८५ सिटमा जदयू विजयी भयो। लामो समयसम्म सत्तामा रहे पनि एन्टी–इनकम्बेन्सीको असर नपरेको विश्लेषकहरूको मत छ।
२०१० मा २०६ सिट जितेको अनुभव दोहो¥याउँदै एनडीएले फेरि एकपटक दुई सय सिटभन्दा बढी ल्याएर सत्ता पक्का गरेको छ। लोजपा (रा) को प्रदर्शन ऐतिहासिक रह्यो—२८ उम्मेदवारमध्ये १९ विजयी। हम, रालोमो, जदयू, भाजपाबीचको तालमेलले सामाजिक समीकरण मजबुत रह्यो।
विपक्षले उठाएको नोकरी, पलायन, वोट चोरी जस्ता मुद्दाहरूले जनमत प्रभावित गर्न सकेन। उल्टो, मतदाताले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिए।
चुनावमा भारी हारसहित महागठबन्धन पूर्ण रूपमा रणनीतिक रूपमा पराजित भएको छ । नेतृत्वहीनता र तालमेलको अभाव, राजद, कांग्रेस र अन्य घटक दलबीच सिट बाँडफाँडदेखि मुख्यमन्त्री–उपमुख्यमन्त्रीको नाममा सहमति बन्न नसक्नु प्रमुख कारण बन्यो। तेजस्वी यादवले अभियान त चलाए, तर गठबन्धनभित्रकै असन्तुलन र विवादले विश्वसनीयता कमजोर बनायो।
महागठबन्धनले चुनावी एजेन्डा तय गर्न असफल छ । उसले उठाएका मुद्दाहरू स्पष्ट, प्रभावकारी र जन–अपेक्षासँग मेल नखानुले एनडीएको विकास, सुरक्षा र ‘स्थिर सरकार’ को एजेन्डालाई मजबुत बनाइदियो। यसका साथै महागठबन्धनको कमजोर संगठन र असन्तुष्ट कार्यकर्ताहरुको कारण कयौँ क्षेत्रमा राजद–कांग्रेसको ग्रासरुट संगठन निष्क्रिय देखियो। महागठबन्धनको उम्मेदवार चयन विवादित रह्यो जसका कारण बूथ–व्यवस्था कमजोर रह्यो।
जातीय समीकरणको गलत आकलनले समेत महागठबन्धनलाई क्षति भएको देखिएको छ। गत चुनावहरूमा प्रभावशाली मानिएको माई समीकरण यस पटक कमजोर देखिएको छ। महिला, युवा र नयाँ मतदाताको झुकाव डबल इन्जिन सरकार तिर जानुले समेत एनडिएलाई फाइदा भएको देखिएको छ ।
कांग्रेस भित्रको असन्तोष, गलत टिकट वितरण र कमजोर ग्राउन्ड मेकानिज्म महागठबन्धनको हारमा निर्णायक साबित भएको छ । महिलाको निर्णायक भूमिका, युवाको भविष्यप्रतिको भरोसाले एनडिए गठबन्धनलाई प्रचण्ड विजय दिलाउन सफल भएको छ।
नीतीश सरकारको, पढाई–रोजगारी कार्यक्रम, महिलाका लागि आर्थिक प्रोत्साहन ,सुरक्षा र सशक्तीकरणका नीतिले महिला मतदातालाई निर्णायक रूपमा आकर्षित गर्यो।
युवाहरूले ‘डबल इन्जिन सरकार’मा रोजगारी, स्टार्टअप र भविष्यका अवसर देखे, जसले उनको मतदानको दिशा स्पष्ट गर्यो।




