काठमाडौँ, मंसिर १ । प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सभामुख देवराज घिमिरेसँग नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूले अनौपचारिक छलफल गरेका छन्।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए। कांग्रेसका घिमिरेका अनुसार भेटघाट अनौपचारिक प्रकृतिको थियो। उनले भने, “चिया–कफी खाँदै अनौपचारिक कुरा भयो। संसद् पुनर्स्थापनाबारे पनि छलफल भयो। आगामी निर्वाचन हुन्छ कि हुँदैन, यस्तै चिया गफ भयो।”
सभामुख घिमिरे स्वयं प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउँछन्। उनले भने, “म संसद् पुनर्स्थापनाकै पक्षमा छु। संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ। यसका लागि संसद् पुनर्स्थापना हुनु आवश्यक छ।”
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो भने आगामी २१ फागुनका लागि निर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने उम्मेदवारी दर्ताको समय ६ माघसम्म तोकिएको छ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आजदेखि १० मंसिरसम्म रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतले पहिलो दिनै आयोगमा निवेदन दिएका छन्।
संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेभित्र पनि छलफल चलिरहेको छ। कांग्रेस केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिएको छैन भने एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताइसकेको छ।
दुवै दलले विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन गरिसकेका छन्। कांग्रेसका ४६ र एमालेका ३२ सांसदले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। यसबारे थप छलफल गर्न एमालेले मंगलबार विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक च्यासल कार्यालयमा दिउँसो १ बजे बस्ने निर्णय गरेको छ।
यसरी राजनीतिक दलहरूले संसद् पुनर्स्थापनाबारे संवैधानिक निकास खोज्ने प्रयास जारी राखेका छन्।




