विप्लव नेतृत्वको नेकपा माओवादीले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न ‘गुलाब’



काठमाडौं, मंसिर २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गर्दै चुनाव चिह्न ‘गुलाब’ तोकेको छ।

दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा विप्लवले भने, “दल दर्तासँगै नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने तयारी भएको छ। भोलिबाट हामी देशभरि नयाँ अभियान सुरु गर्दै पार्टी पंक्ति र नेपाली श्रमिक–जनतालाई विशेष अपिल गर्नेछौं।”

विप्लवले जनतालाई परिवर्तनको निर्माता भएको भन्दै थपे, “आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जुन बाटोबाट परिवर्तन सम्भव देख्छन्, हामी त्यसका लागि तयार छौं।”

पत्रकारहरूको प्रश्नमा कि चुनाव कहिले हुने हो, उनले उत्तर दिए, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।”

उनले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दलहरूलाई निर्वाचनमा समावेश गर्दै नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्ष आफ्नो दलको रहेको जानकारी दिए।

विप्लव नेतृत्वको नेकपा माओवादीको दर्ता र चुनाव चिह्न ‘गुलाब’ले आगामी चुनावमा पार्टीको राजनीतिक उपस्थितिलाई मजबुती दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ३, मंगलवार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको