तनावपछि बाराको सिमरामा कर्फ्यू आदेश



जनकपुरधाम, मंसिर ३ । बाराको सिमरा क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार दिउँसो स्थानीय सुरक्षा व्यवस्था अस्थिर बनेपछि प्रशासनले अवस्था नियन्त्रणमा राख्न कर्फ्यू लागू गरेको हो।

सिमरामा आज जेनजी युवाहरू र प्रहरीबीच झडप भएपछि वातावरण थप संवेदनशील बनेको थियो। एमाले नेता महेश बस्नेत सिमरा आइपुग्न लागेका जानकारीपछि जेनजी समूहले सिमरा एयरपोर्ट क्षेत्रमा विरोध कार्यक्रम गरिरहेको थियो। त्यही क्रममा जेनजी कार्यकर्ता र युवा संघका कार्यकर्ताबीच विवाद सुरु भई स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरी र जेनजीबीच भएको झडपका कारण सिमरा क्षेत्रमा भीड बाक्लिन थालेपछि प्रशासनले स्थिति बिग्रिन नदिन कर्फ्यू लगाउने निर्णय गरेको हो। पटक–पटक शान्ति र संयम अपनाउन आग्रह गरिए पनि अवस्था सामान्य नदेखिएपछि कर्फ्यू अपरिहार्य बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, नेकपा एमालेको युवा संगठन—युवा संघ नेपाल—ले आज बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जनजागरण अभियान आयोजना गरेको छ। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने कार्यक्रम तय भएका छन्। उनीहरूको आगमन रोक्ने उद्देश्यले जेनजी युवाहरू सक्रिय रूपमा विरोधमा उत्रिएका थिए।

स्थानीय प्रशासनले अहिले क्षेत्रभित्र सर्वसाधारणलाई घरबाहिर ननिस्कन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी खटाइएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको