जनकपुरधाम, मंसिर ४। ओरेक नेपालद्वारा आयोजित तीन दिवसीय नेतृत्व विकास तालिम उदयपुरको राजावासस्थित ओरेक कार्यालयमा सम्पन्न भएको छ। धनुषा, सप्तरी र पर्साका विभिन्न स्थानीय तहका ३७ जना युवा महिलाहरूले तालिममा सहभागिता जनाएका थिए।
आवासीय स्वरूपमा आयोजित उक्त तालिममा महिला सशक्तीकरण, लैंगिक हिंसा, आर्थिक हिंसा तथा महिलाले सामना गर्ने सामाजिक चुनौतीहरूको पहिचान र समाधान जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरिएको ओरेक नेपालले जनाएको छ।
तालिममा वीरगन्ज महानगरपालिकास्थित संगिनी आवाज महिला समूहका ९ जना, पकहामैनपुर गाउँपालिकाका महिला समूहका १० जना, जनकपुरधाम उपमहानगरपालिकाका ९ जना तथा अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका ९ जना सहभागी रहेको ओरेकद्वारा जानकारी दिइयो।
ओरेक नेपालका अनुसार नेतृत्व, निर्णय क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै महिलालाई समुदायमा प्रभावकारी रूपमा अग्रसर गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। संस्थाले यस्तो तालिमले सहभागी महिलाहरूलाई आफ्ना क्षेत्रमा सक्रिय नेतृत्वकर्ताको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।




