एमाले महाधिवेशनमा समूहगत भीडन्तको संकेत

अध्यक्षमा ईश्वर पोखरेलको औपचारिक दाबी


काठमाडौँ , मंसिर ५ । नेकपा एमालेको आगामी महाधिवेशनमा नेतृत्वको लागि समूहगत भीडन्तको संकेत देखिएको छ । महाधिवशेन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वलाई लिएर आन्तरिक प्रतिस्पर्धा चर्किन थालेको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमै भावी अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धाका लागि तयार रहेको घोषणा गरेका छन् ।

पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय नेतृत्वबाट बिदा लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका छन् । साथै, सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि आफूलाई सहयोग गर्न उनले ओलीसमक्ष अपिल गरेका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै  अध्यक्ष ओलीले नेतृत्व सर्वसम्मत चयन गर्न आफू तयार रहेको बताए । तर, यदि सर्वसम्मति सम्भव नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न पनि पार्टी तयार हुनुपर्ने उनको भनाइ थियो । उनले विगतमा झलनाथ खनाल, माधवकुमार नेपाल र भीम रावलजस्ता नेताहरूबीचको प्रतिस्पर्धाले पार्टीमा देखिएको विभाजन र अस्थिरताको उदाहरण दिँदै अहिले त्यस्तो अवस्था आउन नदिन सबै एकढिक्का हुनुपर्नेमा जोड दिए ।

उपमहासचिव प्रदीप ज्ञवालीले भने, “पार्टी, आन्दोलन र राष्ट्रमाथि रहेका चुनौतीहरूको सामना गर्न यो महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा लैजानु जरुरी छ । आम कार्यकर्ताको चाहना पनि यही हो । तर, कसैले प्रतिस्पर्धा गर्न चाहे स्वस्थ र मर्यादित ढंगले गर्न सकिन्छ ।”

झण्डै ८ घण्टा चलेको आजको सचिवालय बैठकमा महाधिवेशनको तयारी, समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे विस्तृत छलफल भएको थियो । नेताहरूले आ–आफ्ना धारणा राख्दै पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष पदका लागि खुलेको दाबीले आगामी महाधिवेशन थप रोचक र प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर ६, शुक्रवार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको