मन्त्रीद्वयले गरे रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निरीक्षण



जनकपुरधाम, मंसिर ५ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री कुलमान घिसिङ्गले आज जनकपुरधामस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निरीक्षण गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन आज जनकपुरधाम आएका मन्त्रीद्वयले विहान रंगशाला स्थल पुगेर प्रस्तावित निर्माणकार्य र सुविधाहरूको अवलोकन गरेका थिए । निरीक्षणको क्रममा रंगशालाको डिजाइन, मैदानको अवस्था, सिट व्यवस्था र पार्किङ सुविधासहितको प्रस्तावित अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्रीहरूले जनकपुरधाममा निर्माणाधिन यो रंगशाला खेलकुदप्रेमीहरूका लागि आशाको केन्द्र बन्ने विश्वास व्यक्त गरे । बब्लु गुप्ताले भने, “नेपालमा खेलकुदप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । यस रंगशालाले युवा खेलाडीहरूका लागि ठूलो अवसर प्रदान गर्नेछ र अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्न सकिने आधार तयार गर्नेछ।”

साथै, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्गले संघ सरकारको तर्फबाट रंगशाला निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए । उनले भने, “रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ । यसले जनकपुरधाम र देशकै खेलकुद विकासमा योगदान पुर्याउनेछ।”

निर्माणाधीन रंगशालामा फुटबल, क्रिकेट, भलिबल लगायतका खेलका लागि विशेष सुविधा राखिने लक्ष्य लिएको छ भने दर्शकहरूका लागि पर्याप्त स्थान र आधुनिक संरचना निर्माणको परिकल्पना गरिएको छ ।
रंगशालाको निरीक्षण पछि मन्त्रीद्वयको आजै कमला पुलको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: २०८२ मंसिर ६, शुक्रवार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको