चुनाव सुरक्षा : थप १०० वटा गाडी किन्दै प्रहरी



काठमाडौँ ,मंसिर  ५ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी ले थप १०० वटा गाडी खरिद गर्न पाउने भएको छ ।

अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरीले टेन्डर आह्वान पनि गरेको छ । मंसिर ७ मा बिड ओपन गरिने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । सय वटा पिकअप पट्रोल भ्यान खरिद गर्न लागिएको हो ।



जेनजी प्रदर्शनमा सवारीमा आगजनी भएको र आसन्न निर्वाचनको कारण प्रहरीले ‘विशेष अवस्था’ भन्दै फास्ट ट्रयाकमा गाडी खरिद गर्दै छ ।

प्रहरी प्रधान कार्यालयले यसअघि ८५ वटा गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । त्यसमा ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यान थिए । ८५ वटा पिकअप पट्रोल भ्यान खरिद गर्ने ठेक्का अग्नि इन्कर्पोरेटले पाएको छ । सस्तो दरमा प्रस्ताव पेस गर्ने अग्निसँग खरिद सम्झौता गर्न लागिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने, ‘१५ दिनभित्र सो कम्पनीसँग खरिद सम्झौता हुँदै छ ।’

पिकअप पट्रोल भ्यान प्रतिगोटा ४२ लाखभन्दा कम मूल्यमा सम्झौता हुँदै छ । अग्निसँग महिन्द्रा कम्पनीको स्कोर्पियो पिकअप पट्रोल भ्यान खरिद सम्झौता हुन लागेको हो । यसबारे एक प्रहरी अधिकृत भन्छन्, ‘४१ लाखभन्दा केही थप मूल्यमा खरिद सम्झौता हुँदै छ ।’ सो भ्यान युरो–६ मापदण्डको हुनेछ ।

१० वटा विद्युतीय पिकअप स्कर्ट भ्यान खरिदको ठेक्का सीजी मोटर्सले लिएको छ । सीजीले अबको एक महिनामा विद्युतीय गाडी ल्याइदिने प्रतिबद्धता पनि जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार खरिद सम्झौता भएको एक सय २० दिनभित्र सामान दिनुपर्ने प्रावधान छ । तर, यसपटक चुनावअघि नै सामान लिनेगरी सम्झौता गरिने अधिकृतहरू बताउँछन् ।

जेनजी प्रदर्शन हुँदा प्रहरीले प्रयोग गरिरहेको १८२ वटा चारपांग्रे सवारीमा आन्दोलनकारीले आगजनी गरेका थिए । तर प्रहरीले पाँच सय चारपांग्रे सवारी साधन किन्नुपर्ने प्रस्ताव अघि बढाएको थियो । अर्थ मन्त्रालयले ८५ वटा गाडी यसअघि विनियोजित बजेटबाटै किन्न प्रहरीलाई अनुमति दिएपछि प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरेको थियो ।

सम्झौताको चरणमा पुगेको ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यान २०८२र०८३ मा प्रहरीलाई आएको बजेटबाटै किन्न लागिएको हो ।

६ सय हेलमेट खरिद
जेनजी प्रदर्शनपछि प्रहरीले ६ सय वटा हेलमेट खरिद गरेको छ । चार हजार थान ‘राइट कन्ट्रोल गियर’ पनि खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मंसिर १५ भित्र प्राप्त गर्नेगरी यो खरिद सम्झौता भएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

२०७२ मा प्रहरीले चार हजार आठ सय थान भिड नियन्त्रण गर्ने सामग्री खरिद गरेको थियो, त्यसपछि प्रहरीले ‘राइट कन्ट्रोल गियर’ खरिद गर्न सकेको थिएन ।

‘राइट कन्ट्रोल गियर’मा हेलमेटलगायत भिड नियन्त्रणमा आवश्यक सामग्रीहरू पर्छन् । २०७२ मा १६ हजार सेल अश्रुग्यास खरिद गरिएको थियो । २०७४÷०७५ मा दंगा नियन्त्रण गर्न आवश्यक ६ हजार थान शिल्डढाल खरिद गरिएको अधिकृतहरू बताउँछन् ।

दंगा नियन्त्रण र तालिममा पनि अश्रुग्यास प्रयोग गरिन्छ । नेपाल प्रहरीको २६ सय युनिट छन् । अधिकांश युनिटमा अश्रुग्यास आवश्यक हुने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार सबै जिल्लामा अश्रुग्यास र राइट कन्ट्रोल गियरको असाध्यै माग छ ।

यस पटकको जेनजी आन्दोलनमा प्रहरीले एक हजार सेल अश्रुग्यास सशस्त्र प्रहरीसँग सापटी लिएर प्रयोग गरेको थियो । प्रतिनिधिसभा निर्वाचनअघि २४ हजार सेल अश्रुग्यास सेल खरिद गर्नेगरी सम्झौता भए पनि ६ हजार ३ सय सेलमात्र चुनावअघि आइपुग्ने अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको