रौतहटमा विदेशी पेस्तोलसहित युवक पक्राउ



ओम प्रकाश यादव
रौतहट, मंसिर ७ । रौतहट प्रहरीले विदेशी पेस्तोलसहित एक युवक पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४, देउरालीचोकबाट शनिबार अपराह्न सशस्त्र प्रहरी बलले एक युवकलाई अत्याधुनिक विदेशी हतियारसहित पक्राउ गरेका छन्

सशस्त्र प्रहरी बल, नेपालका इण्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल रौतहटले सञ्चालन गरेको विशेष अपरेसन अन्तर्गत हेटौडा उपमहानगरपालिका–१३, पदमपोखरी निवासी गुणबहादुर आचार्यका छोरा २२ वर्षीय सुमन आचार्यपक्राउ परेका छन।

सशस्त्र प्रहरीको टोलीले चन्द्रपुर–देउराली क्षेत्र हुँदै पैदल हिँडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा विदेशी निर्मित पेस्तोल तथा बारुद फेला परेका हुन्।

मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्ण ढकालको सक्रिय नेतृत्व, उच्चअनुगमन र सूचनाको संवेदनशील उपयोगका कारण पछिल्लो समय प्रदेशभरि सुरक्षा अपरेसनहरू उल्लेखनीय रूपमा सफल हुँदै आएका छन् ।

उनीकै निर्देशनमा रौतहटमा खटिएको टोलीले प्राप्त सूचनालाई अत्यन्त गोप्य राख्दै द्रुत, योजनाबद्ध र जोखिमयुक्त कारबाही सम्पन्न गरेको सशस्त्र प्रहरी स्रोतहरूको भनाइ छ।

चेकजाँचका क्रममा आचार्यको साथबाट अत्याधुनिक विदेशी हतियार तथा सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उनको साथबाट Made in Italy लेखिएको BERETTA पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान, Browning पेस्तोल १ थान, Browning पेस्तोलको म्यागजिन १ थान, राउण्ड १३ गोटा र खुकुरी १ थान बरामद भएको छ।

यी सामग्रीहरू उच्च जोखिमसम्पन्न, तस्करी–सम्बन्धित वा संगठित अपराधमा प्रयोग हुने शंका गरिएको प्रकारका भएकाले अनुसन्धान थप विस्तार गरिएको स्रोतहरूले जनाएका छन् ।

सशस्त्र प्रहरीको टोलीले आचार्यलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ पूरा गरिसकेको छ। उनलाई आवश्यक कानुनी कारबाही तथा विस्तृत अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सुरक्षाबलका अनुसार सीमावर्ती क्षेत्र तथा मुख्य सहरमा अवैध हतियारसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्नु, अपराधी नेटवर्कसहितको तस्करी चेनमा ठूलो दबाब परेको स्पष्ट संकेत हो।

डीआईजी कृष्ण ढकालको नेतृत्वमा हालै मधेश प्रदेशमा अवैध पेस्तोल तथा गोली–बारुदसहित व्यक्तिहरू, तस्करीमा संलग्न समूह र संगठित आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू द्रुतगतीमा पक्राउ परिरहेका छन्।

ढकालले मधेश प्रदेशमा “Zero Tolerance Against Crime” नीति कडाइका साथ कार्यान्वयन गरिरहेको सुरक्षास्रोतहरू बताउँछन्।

उनको कार्यशैलीका कारण गोप्य सूचनाको उच्च उपयोग, फिल्डमा प्रत्यक्ष अनुगमन, जोखिमयुक्त अपरेसनमा सक्रियता, शृंखलाबद्ध अपराध नियन्तरणले मधेश प्रदेशको सुरक्षा संरचना उल्लेखनीय रूपमा बलियो बनेको छ।

देउरालीचोकमा अत्याधुनिक हतियारसहित युवक पक्राउ परेको यस घटनाले मधेश प्रदेशमा सशस्त्र प्रहरी बलको अभियान कत्तिको प्रभावकारी बन्दै गएको स्पष्ट संकेत दिएको छ।

 

प्रकाशित मिति: २०८२ मंसिर ८, आइतवार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको