जनकपुरधाम, मंसिर ८। त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको विवाह भएको पावन स्मृतिमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाममा श्रद्धालुहरूको घुइँचो लागेको छ।
नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट ठूला सङ्ख्यामा आएका श्रद्धालुहरूले जनकपुरधाम भरिभराउ भएको छ। बाहिरबाट आएका भक्तजनहरू जनकपुरका धर्मशाला, होटल, जानकी मन्दिरको प्राङ्गण तथा बारहबिघा मैदानमा निर्माण गरिएको पण्डालमा बसोबास गरिरहेका छन्।
भिड व्यवस्थापन गर्न धनुषा प्रहरीले ट्राफिक व्यवस्थापनसहित सुरक्षा व्यवस्थामा कडा प्रबन्ध गरेको छ।
विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै प्रशासनले जनकपुरधामको परिक्रमा सडकभित्र माछा–मासु तथा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ।
यसैबीच, जनकपुरधामका सम्पूर्ण शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएका छन्। निजी विद्यालय तथा कलेजहरूले श्रद्धालुहरूका लागि आवास व्यवस्थासमेत मिलाएका छन्।
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि सम्पन्न हुँदैछ। जनकपुरधामस्थित गंगासागर तालावमा दिउँसो मटकोर विधि सम्पन्न हुने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिएका छन्।




