जनकपुरधाम, मंसिर १० । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जिल्ला प्रशासन कार्यालयहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिद्वारा घोषित आन्दोलनको कार्यक्रम अनुसार पार्टीले उठाउँदै आएका मुख्य माग तथा राष्ट्रिय मुद्दाहरू समेटेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको हो।
जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले दिउसो १२ बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएका छन । ज्ञापन पत्रका लागि जसपा नेपाल धनुषाले शिवचौकमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ।
देशको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था, जनजीविकाका समस्या र सरकारको कार्यशैलीप्रति ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन लागिएको जसपा नेपालले जनाएको छ। सरकारले नागरिकका आधारभूत मागप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै जसपा नेपालले आफ्ना आवाजलाई थप सशक्त बनाउने नीति लिएको जनाएको छ।
यसैअनुसार पार्टीले मंसिर ११ गतेदेखि १५ गतेसम्म देशभरका विभिन्न संसदीय निर्वाचन क्षेत्रका मुख्य शहर तथा बजारमा विरोध कार्यक्रम र कोणसभा गर्दै जनपरिचालन गर्ने निर्णय गरेको छ। त्यसैगरी मंसिर १९ र २१ गते जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयअगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिनेछ।
पार्टीले मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा तथा जनसभा पनि गर्ने जनाएको छ। साथै, प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाअन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरिएको छ।




