मधेश प्रदेशका मुख्यमन्त्री नियुक्ति सम्बन्धि रिटमा आज पनि सुनुवाइ



जनकपुरधाम, मंसिर १२ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बहस विपक्षी पक्षले नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ भइरहेको छ। अदालतले दुवै पक्षको तर्क सुनिसकेपछि आवश्यक आदेश जारी गर्ने तयारीमा रहेको बताइएको छ।

मुख्यमन्त्री यादवको नियुक्ति संवैधानिक प्रक्रिया र संसदीय अभ्यासविरुद्ध भएको दाबी गर्दै कात्तिक २३ गते मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया र बहुमतको आधारमाथि प्रश्न उठाइएको छ।

विपक्षी पक्षले मुख्यमन्त्री नियुक्तिका लागि स्पष्ट बहुमत नदेखिएको, सत्ता गठनमा संवैधानिक व्यवस्था उल्लंघन भएको तथा अलोकतान्त्रिक प्रवृत्ति देखिएको दाबी गर्दै त्यसलाई रद्द गर्न माग गरेका छन्। यता मुख्यमन्त्री सरोजकुमार यादव पक्षले भने संविधान र कानुनअनुसार नै आफ्नो नियुक्ति भएको दाबी गर्दै आएका छन्।

यो मुद्दा केवल व्यक्तिको नियुक्तिसँग मात्र नभई प्रदेश सरकारको स्थायित्व, कानुनी वैधता र राजनीतिक दिशासँग पनि जोडिएको विषय भएकाले सर्वसाधारणको चासो बढ्दो देखिएको छ। आजको सुनुवाइपछि अदालतको अगिल्लो कदम कस्तो रहनेछ भन्ने विषयलाई सबैले चासोपूर्वक हेरेका छन्।

प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको