काठमाडौँ, मंसिर १५ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय गर्ने सहमतिको प्रयास शुरु भएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रिय कार्यसमितिको बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका तथा नयाँ मिति निर्धारणबारे गम्भीर छलफल हुने स्रोतले जनाएको छ ।
नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरबीच सहमति जुटाउन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पटकपटक छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग सैद्धान्तिक छलफल गरेका हुन्। देउवा आमनिर्वाचनअघि नै महाधिवेशन गर्ने पक्षमा खुला रूपमा देखिएका छन्।
कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गर्दै आए पनि महाधिवेशनको टुंगो लाग्न नसकेको स्थिति रहेको छ। विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्ने मध्यमार्गी सुझाव र सभापति देउवाको सकारात्मकताले आजको बैठकमा नयाँ प्रस्तावमा सहमति बन्ने अनुमान गरिन्छ।
यही उद्देश्यका लागि सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्न सकिने प्रस्ताव सोमबारको बैठकमा पेश गर्न निर्देशन दिएका छन्।
विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सबै नेताहरू इमानदार भएर लागे पुसभित्रै महाधिवेशन गर्न सकिने पक्षमा छन्।
असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भइसकेकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ। पुस २७ देखि महाधिवेशन गर्न मिल्ने तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र आजको बैठकमा प्रस्ताव आउने सम्भावना एक नेताले बताए।






