विश्वासको मतका लागि साढे ८ बजे बोलाइयो प्रदेशसभा,अंकगणितको चुनौती कायमै



जनकपुरधाम, मंसिर १७ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले लिने विश्वासको मतका लागि आज विहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि बिहान साढे आठ बजेका लागि प्रदेश सभा बैठक बोलाएका हुन्।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेश ढिलो प्राप्त भएको भन्दै दिउसो २ बजे विश्वासको मत लिन प्रदेशसभालाई पत्राचार गरेको थियो । तर प्रदेश प्रमुखको कार्यालयमा मंगलवार विहान ११ बजेर १८ मिनेटमै सर्वोच्चको पत्र दर्ता भएको सो अवधी भित्रै विश्वासको मत लिनु पर्ने बाध्यात्मक अवस्थाका कारण विहान साढे आठ बजे नै प्रदेशसभाको बैठक डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

पहिले ६ दलिय गठबन्धनको समर्थनमा नियुक्त लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि कात्तिक २२ गते राजीनामा दिएका थिए। त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

बर्दिवासस्थित एक होटलमा बिहानै गरिएको शपथ ग्रहण प्रक्रियामा प्रश्न उठेपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।

सुनुवाइपछि सर्वोच्चले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको हो। आदेशपछि मुख्यमन्त्रीले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक प्रक्रिया अघि बढाएका छन्।

मुख्यमन्त्री यादवले विहान साढे ८ बजे विश्वासको मतको प्रक्रियामा अघि बढेपनि उनको विश्वासको मत सम्बन्धि चुनौती भने कायमै रहेको छ । मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन्। सरकारलाई विश्वास कायम राख्न कम्तिमा ५४ मत चाहिन्छ। तर अहिलेको अंकगणित मुख्यमन्त्री यादवका लागि सहज देखिँदैन।

एमालेसँग २५ सांसद छन् (एकजना निलम्बित )भने नेपाल संघीय समाजवादी र राप्रपाका १–१ सिट छन्। राप्रपाकी मन्त्री कञ्चन बिच्छाको पद खारेज गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभालाई पत्राचार गरेको कारण उनको पद सम्बन्धि बहस समेत जारी रहेकाले अंकगणितलाई थप जटिल बनाएको छ।

यसअघि सत्ता सञ्चालन गरेको ६ दल सहित काँग्रेस समेत साथमा रहेका सातदलीय गठबन्धन ७४ सदस्य सहित बलियो बनेको छ ।
गठबन्धनमा कांग्रेस २२, जसपा नेपाल १९ (एकजना निलम्बित) , जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति १ सांसद छन्।

यदि यो गठबन्धन फुटेन भने एमालेबाट नियुक्त मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना अत्यन्त न्यून देखिन्छ।

प्रकाशित मिति: २०८२ मंसिर १७, बुधबार ०७:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको