काठमाडौँं, मंसिर १८ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा हाल बहालमा रहेका जनप्रतिनिधिहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सिफारिससम्बन्धी परिपत्र जारी गर्दै मातहतका कार्यसमितिहरूलाई यस विषयमा स्पष्ट निर्देशन दिएका छन्।
परिपत्रमा भनिएको छ, “राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन। प्रदेशसभामा हाल बहाल रहेका सदस्यहरूको नाम पनि उम्मेदवारका लागि सिफारिस गर्न पाइने छैन।” यसअनुसार, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ, समानुपातिकतर्फ र राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने भएका छन्।
यस्तै, प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फ समावेश भएका उम्मेदवारहरूको नाम पनि आगामी निर्वाचनका लागि सिफारिस गर्न नपाइने व्यवस्था परिपत्रमा उल्लेख छ। साथै, तोकिएको संख्या भन्दा बढी उम्मेदवार सिफारिस भएमा केन्द्रले त्यसको कार्यान्वयन नगर्ने पनि स्पष्ट गरिएको छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि कांग्रेसले एक महिलासहित तीन जनाको नाम, समानुपातिकतर्फ कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ। राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक सिटमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। नाम सिफारिस गर्ने बैठकमा सहमति हुन सकेमा सहमतिबाट, नत्र बहुमतबाट निर्णय गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ।
विश्लेषकहरूका अनुसार, कांग्रेसको यस निर्णयले पार्टीमा नयाँ नेतृत्व र ताजा उम्मेदवारलाई अवसर दिनेसँगै वर्तमान जनप्रतिनिधिहरूको अनुभव र प्रभावलाई मूल्यांकन गर्ने संकेत गरेको छ। आगामी निर्वाचनमा यो निर्णयले पार्टीको रणनीति र उम्मेदवार छनोट प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।




