नयाँ पुस्ताको चाहनाअनुसार नेतृत्व रूपान्तरण हुनुपर्छ – राष्ट्रपति पौडेल



काठमाडौं, मंसिर २०। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना अनुसार नेतृत्व रुपान्तरण हुनु पर्ने बताएका छन ।

ललितपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा निर्वाचन नै देशलाई निकास दिने प्रमुख मार्ग भएको बताए । नयाँ पुस्ताले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकासमै देशको भविष्य देख्ने भएकाले नेतृत्वले समयअनुसार आफ्नो भूमिकामा रूपान्तरण गर्नुपर्ने आवश्यकता दोहोर्‍याए।

राष्ट्रपति पौडेलले भने, “यही व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भन्ने भावना जनतामा जगाउनुपर्छ। नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्वले आफैँलाई रूपान्तरण गर्दै लैजानु आजको साझा दायित्व हो। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाएर देशलाई निकास दिने फागुन २१ को निर्वाचनको विकल्प छैन।”

उनका अनुसार पूर्वाधार निर्माण मात्र विकासको मानक नभई नागरिकको जीवनस्तरमा सुधार ल्याउने शासन पद्धति निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो।

राष्ट्रपति पौडेलले जनताको गुनासो, असन्तुष्टि र आवश्यकतामा ध्यान दिन जनतासँग प्रत्यक्ष संवाद र घरदैलोमा पुग्ने लोकतान्त्रिक व्यवहार अनिवार्य भएको पनि बताए।

प्रकाशित मिति: २०८२ मंसिर २१, शनिवार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको