जनकपुरधाम, मंसिर २१ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन्। नवनिय्क्त मुख्यमन्त्री यादवले बज्जिका भाषामा सपथ लिएका छन ।
यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सातदलीय गठबन्धनका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
उनीलाई कांग्रेस, जसपा नेपाल, जनमत, पूर्व नेकपा माओवादी केन्द्र, लोसपा र पूर्व एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।
यसअघि संविधानको धारा १६८९३० अनुसार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए। तर सातदलीय गठबन्धनले सर्वोच्चमा दायर गरेको रिटपछि अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।
विश्वासको मत लिनुअघि सरोजकुमार यादवले मंसिर १७ गते प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए।
उनको राजीनामापछि गठबन्धनले कांग्रेस दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो। यादवले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।






