काठमाडौं, मंसिर २२ । प्रतिनिधिसभा पुनर्स्थापना को माग गर्दै नेपाली कांग्रेसका आठ सांसदले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन रोक्नुपर्ने माग राखिएको छ।
संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङ सहित रिट दायर गर्ने आठ सांसदमा आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवण कुमार श्रेष्ठ रहेका छन्। रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस बनाएर पेस गरिएको थियो।
रिटमा भनिएको छ कि, ‘असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारले गर्ने प्रतिनिधिसभा निर्वाचन अवैधानिक हुने भएकाले निर्वाचनका सबै गतिविधि रोक्न आदेश जारी गरियोस्।’ साथै, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख र प्रतिनिधिसभा सचिवालयलाई विपक्ष बनाइएको छ।
रिटमा भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपतिले धारा ७६ अनुसार नयाँ सरकार गठन गर्नुपर्ने र सुशीला कार्की नेतृत्वको सरकार संविधानका धारा ७६ र १३२९२० विपरीत भएको दाबी गरिएको छ। निवेदकहरूले कार्कीको नियुक्ति, शपथग्रहण र प्रतिनिधिसभा विघटन भदौ २७ को निर्णय पनि बदर गर्न माग गरेका छन्।
यसअघि पनि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालले प्रतिनिधिसभा पुनर्स्थापना र सरकारविरुद्ध रिट दायर गरेका थिए। यसअघि यही विषयमा एक दर्जनभन्दा बढी रिट सर्वोच्च अदालतमा दायर भइसकेका थिए।
सर्वोच्च अदालतले रिट दर्ता गर्ने वा नगर्ने निर्णय अध्ययनपछि मात्र तय गर्नेछ।




