काठमाडौं, मंसिर २५ । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने विषयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच कुराकानी भएको विवादास्पद दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले यसबारे सार्वजनिक रूपमा प्रश्न उठाएका हुन्।
बस्नेतका अनुसार, एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा ‘ओलीले आयोगमा बयान दिन नजानुको कारण’ सोधिनुपर्ने बताएका थिए। त्यसको केही समयमै भण्डारी र प्रधानमन्त्री कार्कीबीच भएको भनिएको भेटवार्तामा ओलीलाई गिरफ्तार गर्ने विषय उठेको रहस्य खुलेको आरोप बस्नेतले लगाएका छन्। भण्डारी केही दिनअघि सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग राजनीतिक संवाद गरेकी थिइन्।
बस्नेतले जेन–जी समूहसँग भएको सम्झौता र केही सेलिब्रेटी—जसमध्ये कमेडियन हिमेश पन्तसमेत—द्वारा ‘ओली पक्राउ’बारे गलत हल्ला फैलाइएको दाबी पनि गरेका छन्। उनका अनुसार यी सबै गतिविधि एउटै ‘राजनीतिक खेल’ अन्तर्गत गरिएका हुन्।
उनले लेखेका छन्, “‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायल महाधिवेशन भाड्ने, आतंक फैलाउने र सहभागिता कमजोर पार्ने उद्देश्यसहित गरिएको हो। अन्तिम चरणमा ओलीको लोकप्रियता घटाइ महाधिवेशनमा हराउन खोजिएको छ।”
बस्नेतका अनुसार, पार्टीलाई कमजोर पार्ने वा अध्यक्ष ओलीमाथि दबाब सिर्जना गर्ने कुनै पनि ‘षड्यन्त्र’ सफल नहुने चेतावनी दिएका छन्। उनका शब्दमा, “एमाले सबै प्रकारका राजनीतिक चाल र षड्यन्त्र चिर्न सक्षम छ।”




