दाङ:बर्दिया ,मंसिर २६ । दाङ तुलसीपुरका १९ वर्षीय निरज चौधरीको गोली हानी हत्या घटनामा संलग्न महावीर चौधरीसहित चार जनालाई बर्दिया प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको गुलरियामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी सरोज पौडेलले महावीर(५१) र उनलाई सहयोग गर्ने रामकुमारी थारू (४४), उनका पति बुद्धि थारू (५०) र छोरा राहुल थारू (२२) लाई पक्राउ गरिएको जानकारी दिए।
मंसिर २० गते बिहान ८ बजे, महावीरले निरजलाई ८८राजापुर–४ स्थित ‘हमार थारू घर एण्ड रेष्टुरेन्ट’८८मा गोली हानी हत्या गरेका थिए। उक्त रेष्टुरेन्ट रामकुमारीको नाममा दर्ता छ र परिवारले सञ्चालन गर्दै आएका थिए।
एसपी पौडेलका अनुसार, गोली प्रहारपछि महावीरले आफ्नै सवारी प्रयोग नगरी राहुलको मोटरसाइकल प्रयोग गर्दै भागेका थिए। निरजलाई अचेत अवस्थामा नेपालगंज नरसिंह होम अस्पताल पुर्याउने क्रममा उनी आफैं अस्पताल नपुगी कैलालीतर्फ भागेका थिए। कैलालीको कैलारी गाउँपालिका–२ मा लुकीछिपी बसेको अवस्थामा महावीरलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका रामकुमारी र बुद्धि थारूले घटनास्थल र रेष्टुरेन्टमा प्रमाण नष्ट गरेको खुलेको छ। महावीरले भाग्ने क्रममा विभिन्न मोबाइल र सीम कार्ड प्रयोग गरी सम्पर्क राखेका थिए। प्रहरीले हतियार र भारतीय नम्बर प्लेटको सवारी समेत नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, महावीरले विगतमा निरजसँग अमेरिका पठाउने आश्वासनमा पैसा असुलेको र पैसा फिर्ता माग्दा हत्या गरेको खुल्न आएको छ। हत्या गरिएका निरज पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको फार्म हाउसमा नौ महिनादेखि काम गर्दै आएका थिए। महावीर पूर्वमुख्यमन्त्री डिल्लीका सहोदर भाइ हुन्।
प्रहरीले हत्या कारण, रकम र हतियारको स्रोतबारे थप अनुसन्धान जारी राखेको छ।




