काठमाडौं, मंसिर २९ । काठमाडौंमा जारी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयन प्रक्रिया अघि बढ्दैछ । निर्वाचन कार्यतालिकाअनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन तथा उम्मेदवारी दर्ता गरिँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ । त्यसपछि दिउँसो १:३० बजेसम्म उम्मेदवारहरूले दरखास्त फारम दर्ता गर्न सक्नेछन् ।
आयोगका अध्यक्ष डा। विजय सुब्बाले जानकारी दिएअनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो २स्३० बजे सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावलीमाथि उजुरी दिने समय २:३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । उजुरीमाथि छानबिनपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।
यद्यपि निर्वाचन तालिका सार्वजनिक भइसके पनि शीर्ष तहमा सहमतिको प्रयास जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्ष अध्यक्षमा ओलीलाई निरन्तरता दिने र अन्य पदमा निर्वाचन गर्ने पक्षमा देखिएको छ ।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
यसअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनको निर्णय संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी रहनेछन् । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ ।






