श्याम कुमार ठाकुर
सिरहा, मंसिर २९ । रामनगर मिर्चैया उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनमा संस्थापन पक्षले स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ। संघको अध्यक्ष पदमा संस्थापन प्यानलका उम्मेदवार भरत महासेठ निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत प्रशान्त साहका अनुसार महासेठले ७३६ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजकुमार साहले ५४४ मत ल्याएर दोस्रो स्थानमा रहे भने अर्का उम्मेदवार हरिकिशोर महतोले ५०६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धी प्यानलका देवकृष्ण साह निर्वाचित भएका छन्। उनले ६५७ मत प्राप्त गर्दा संस्थापन प्यानलका अरुण कुमार सिंह ६१२ मतसहित पराजित भए। हरिकिशोर प्यानलका प्रमोद साहले ५०३ मत प्राप्त गरेका छन्।
अन्य पदहरूमा संस्थापन प्यानलको दबदबा देखिएको छ। प्रथम उपाध्यक्षमा दिनेश साह, उपाध्यक्षमा शम्भु साह, महासचिवमा राकेश साह, कोषाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा जितेन्द्र साह निर्वाचित भएका छन्। सदस्य पदमा मनोज साह, मखवुल मन्सुरी, जोगिन्द्र सुडी, आनन्द सिंह, राधिका श्रेष्ठ, रामभरोष यादव, मनोज साह र गंगा साह सुडी निर्वाचित भएका निर्वाचन अधिकृत साहले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष महासेठ यसअघि हरिशंकर साह नेतृत्वको कार्यसमितिमा सचिवको जिम्मेवारीमा थिए। महासेठ नेतृत्वको प्यानललाई नेकपा र जनमत पार्टीको समर्थन रहेको थियो। त्यसैगरी, राजकुमार साहको प्यानललाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र राप्रपाको समर्थन थियो भने हरिकिशोर महतो नेतृत्वको प्यानल स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएको थियो।
१५ सदस्यीय कार्यसमितिका लागि भएको उक्त निर्वाचनमा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाका २१०९ मतदातामध्ये १८८१ जनाले मतदान गरेका थिए।




