माधवनारायण नगर प्रमुख यादवद्वारा आगलगी पीडितलाई सहयोग



ओम प्रकाश यादव
रौतहट, मंसिर २९ । रौतहटको माधवनारायण नगरपालिकाले आगलगीको पीडामा परेका एक परिवारलाई मानवतामूलक भावना सहित तत्काल राहत सहयोग प्रदान गरेको छ।

विद्युत सर्टका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएपछि घरबारविहीन बनेका माधवनारायण नगरपालिका–६ माधोपुर निवासी भोजेन्द्र राय यादव र उहाँको परिवारलाई नगरपालिकाले तत्काल राहतस्वरूप खाद्यान्न तथा दैनिक उपभोग्य आपत्कालीन सामग्री उपलब्ध गराएको हो।

गत शुक्रबार राति अचानक भएको आगलगीले भोजेन्द्र यादवको घर पूर्ण रूपमा खरानीमा परिणत भएको थियो। आगोले घरसँगै घरभित्र रहेका अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, गरगहना, नगद तथा दैनिक जीवनयापनका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडित परिवार गम्भीर समस्यामा परेको थियो।

घरबार सबै गुमेपछि परिवार खुला आकाशमुनि बस्न बाध्य भएको अवस्थामा नगरपालिकाले तत्काल पहल गरेको हो। पीडित परिवारको अवस्थाबारे जानकारी पाएलगत्तै नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज स्वयं घटनास्थलमा पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको छ।

नगरपालिकाको तर्फबाट ग्यास चुल्हो र ग्यास सिलिन्डर, दुई बोरा चामल, दाल, नुन, खाने तेल, चिउरा लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको छ। साथै चिसो मौसमलाई मध्यनजर गर्दै ओढ्ने न्यानो कपडा, कम्बल तथा ब्ल्याङ्केट समेत उपलब्ध गराइएको छ। त्यस्तै पीडित परिवारलाई दैनिक खाना पकाउन र बसोबासका लागि आवश्यक भाँडाबर्तन, टर्चलाइट तथा अस्थायी आवास व्यवस्थापनका लागि त्रिपाल पनि हस्तान्तरण गरिएको छ।

उक्त राहत सामग्री नगर प्रमुख बैजनाथ प्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव तथा माधोपुरका वडा अध्यक्ष राम नरेश रायले संयुक्त रूपमा पीडित परिवारलाई प्रदान गरेका हुन्।

राहत सामग्री हस्तान्तरणका क्रममा नगर प्रमुख यादवले आगलगीजस्ता विपद्का घटनाले पीडित परिवारलाई एकाएक बेसहारा बनाउने भएकाले स्थानीय सरकारको पहिलो दायित्व पीडितको पीडामा साथ दिनु भएको उल्लेख गर्नुभयो।

“घरबारविहीन भई विचल्लीमा परेको परिवारलाई तत्काल राहत पुगोस् र दैनिक जीवनयापनमा केही सहजता होस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो।

नगरपालिकाको यस तत्कालीन सहयोगले आगलगी पीडित भोजेन्द्र राय यादवको परिवारलाई ठूलो राहत मिलेको छ। विपद्को कठिन घडीमा स्थानीय सरकार जनताको साथमा रहेको सन्देश दिएको भन्दै स्थानीयवासीहरूले नगरपालिकाको कदमको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको