महिला कोटामा ओली प्यानलबाट ५२ जनाको सूची सार्वजनिक, झाँक्री र वली पनि समेटिए



काठमाडौँ , मंसिर २९ । नेकपा एमालेको केन्द्रीय समिति सदस्य(महिला)तर्फ केपी शर्मा ओली प्यानलबाट ५२ जनाको नाम समेटिएको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीमा पूर्वमन्त्री रामकुमारी झाँक्री र नेतृ कोमल वलीको नाम समेत समावेश छ ।

ओली प्यानलले महिला कोटाअन्तर्गत विभिन्न भूगोल, जातीय तथा सामाजिक पृष्ठभूमिलाई समेट्ने प्रयास गरेको बताइएको छ । सूचीमा झाँक्री र वलीसँगै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत नेतृहरूको नाम पनि समावेश गरिएको छ ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ । नेतृत्व चयनमा सहमतिको प्रयास असफल भएपछि अधिकांश पदमा निर्वाचन हुने निश्चित भएको हो । महिला केन्द्रीय सदस्यतर्फ समेत प्रतिस्पर्धा हुने देखिएको छ ।

ओली प्यानलले अनुभव र संगठनमा सक्रिय महिलाहरूलाई प्राथमिकता दिएको दाबी गरेको छ । पार्टीभित्र महिला सहभागिता बलियो बनाउने र संगठन सुदृढ गर्ने उद्देश्यका साथ सूची तयार गरिएको नेताहरूको भनाइ छ । यता, अन्य प्यानल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि महिला कोटामा आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

एमालेको केन्द्रीय कमिटी आगामी कार्यकालका लागि पार्टीको नीति, संगठन र राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण संरचना भएकाले महिला केन्द्रीय सदस्य चयनलाई विशेष अर्थका रूपमा हेरिएको छ । निर्वाचन परिणामले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वको भविष्यको दिशा समेत संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।

महाधिवेशन स्थलमा उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय देखिएका छन् भने नेतृत्व चयनलाई लिएर कार्यकर्तामाझ चासो बढेको छ । महिला कोटामा को–को निर्वाचित हुन्छन् भन्ने विषयलाई एमाले वृत्तमा विशेष ध्यानका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १, सोमवार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको