अग्नि खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा



विराटनगर , मंसिर २९ । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्दै सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहले तय गरेको केन्द्रीय समितिको सूचीमा आफ्नो नाम रहे पनि खरेलले सो सूचीबाट चुनाव नलड्ने स्पष्ट पारेका हुन् ।

ओली समूहले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका उम्मेदवारको नाम टुंगो लगाएको थियो । उक्त सूचीमा खरेल केन्द्रीय समिति सदस्यका रूपमा समेटिएका थिए । तर, आफूले खोजेको पद पदाधिकारी तह भएको भन्दै उनले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।



अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी र पदाधिकारीको ‘टिम’ मा आफू नपरेको विषयमा प्रतिक्रिया दिँदै खरेलले भने, “केन्द्रीय समितिको टिम आफ्नो ठाउँमा होला, त्यसमा मलाई केही भन्नु छैन । तर मैले खोजेको पद पदाधिकारी हो, त्यसमा मेरो नाम छैन । त्यसैले म सचिव पदमा उम्मेदवारी दिन्छु ।”

खरेलले आफू कुनै पनि समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीको सूची बाहिर रहेका अन्य नेताहरूसँग मिलेर जाने सम्भावनालाई अस्वीकार गर्दै उनले भने, “म स्वतन्त्र रूपमा उम्मेदवारी दिन्छु । सबै मतदातासँग आफैं सम्पर्क गर्छु, सार्वजनिक रूपमा भोट माग्छु ।”

महाधिवेशन प्रतिनिधिहरूको विवेक र निर्णयमाथि आफूलाई पूर्ण विश्वास रहेको पनि खरेलले बताएका छन् । “मत दिने वा नदिने अधिकार प्रतिनिधिहरूकै हो । म कसैको इच्छामा हस्तक्षेप गर्दिनँ, तर आफ्नो अधिकार प्रयोग गर्छु,” उनले भने ।

उनले पदाधिकारी तहमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिको विरोधसमेत गरेका छन् । पदाधिकारी चयनमा स्वच्छ र खुला प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै खरेलले भने, “कम्तीमा पदाधिकारी तहमा प्यानल नबनाएको भए हुन्थ्यो भन्ने मेरो आग्रह थियो । अब जसले जे गर्छन्, गरून् ।”

सर्वसम्मतिको प्रयासका क्रममा तयार पारिएको अध्यक्ष ओलीको सूचीमा नपरेपछि लोकतान्त्रिक विधिअनुसार चुनाव लड्ने र प्रतिनिधिहरूको जनमत स्वीकार गर्ने तयारी खरेलको छ । नतिजा जस्तो आए पनि उम्मेदवारी दिएर आफ्नो अधिकार प्रयोग गर्ने उनको अडान छ ।

ऋजब

प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको