एमाले महाधिवेशनमा मतदानको समय सरेपछि उम्मेदवार र प्रतिनिधि प्रचारमा व्यस्त



काठमाडौं, पुस १ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिलो हुने भएपछि उम्मेदवारहरू र उनीहरूका प्रतिनिधि प्रचारमा व्यस्त देखिएका छन्। मतदान स्थल भृकुटीमण्डपमा बिहानैदेखि उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट माग्दै हिँडिरहेको दृश्य देख्न सकिन्छ।

मतदान पूर्वनिर्धारित समयभन्दा ढिला सुरु हुने निश्चित भएपछि उम्मेदवारहरूले प्रचार–प्रसारका लागि थप समय पाएका छन्। कतिपय उम्मेदवार आफ्ना समर्थकसहित समूह बनाएर नारा लगाउँदै भोट मागिरहेका छन् भने केहीले शान्त र व्यक्तिगत रूपमा मतदातासँग भेटघाट गरिरहेका छन्।

प्रदर्शनी मार्ग क्षेत्रमा एमाले कार्यकर्ताहरूको ठूलो भीड देखिएपछि सुरक्षाका कारण प्रहरीले सो सडक अस्थायी रूपमा बन्द गरेको छ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। प्यानल बाहिर रहेकाहरूले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन्।

केन्द्रीय निर्वाचन आयोगले मतदानको समय दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म तोकेको भए पनि उम्मेदवारहरूको अन्तिम नामावली ढिला प्राप्त भएकाले मतदान केही ढिलो सुरु हुने भएको हो। विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरूको फोटोसहित विवरण प्रविष्ट गर्न समय लागेकाले मतदान सुरु हुन करिब चार बज्न सक्ने भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए।

उनका अनुसार एक प्रतिनिधिले सबै पदमा मतदान गर्न कम्तीमा ३५ मिनेट समय लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको