मधेस प्रदेशमा जनमत पार्टीको सरकार छाड्ने चेतावनी, गठबन्धनमा विवाद चुलिँदै



काठमाडौं ,पुस १ । मधेस प्रदेशमा हालै गरिएको मन्त्रिपरिषद् विस्तारपछि सात दलीय गठबन्धनभित्र विवाद सुरु भएको छ। मन्त्रालय भागबन्डामा सहमति नजुटेको भन्दै जनमत पार्टीले सरकार छाड्न सक्ने चेतावनी दिएको छ।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले पार्टीको उद्देश्यअनुसार सरकारमा उचित भूमिका सुनिश्चित नभए मधेस प्रदेश सरकारबाट बाहिरिन तयार रहेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत वर्तमान अवस्थामा जनमत पार्टीको सरकारभित्रको उपस्थिति कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। “मधेस प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ,” कुशवाहाले फेसबुकमा लेखेका छन्।

उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत बजेटमा विनियोजन गरिएको १० हजार रोजगारी सृजना गर्ने कार्यक्रमको स्मरण गराउँदै सो मन्त्रालय अरू दललाई दिनु गलत निर्णय भएको दाबी गरेका छन्। भागबन्डाको नाममा उद्योग मन्त्रालय अन्य दललाई सुम्पिनु रोजगारी सिर्जनासम्बन्धी योजनालाई अलपत्र पार्ने कदम भएको उनको भनाइ छ।

यसअघिको मधेस प्रदेश सरकारमा वसन्त कुशवाहा स्वयं उद्योग मन्त्री थिए। उनले उद्योग मन्त्रालयका लागि उल्लेखनीय बजेट विनियोजन गरेका थिए। तर वर्तमान सरकार गठनपछि उक्त मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ। जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय आफ्नो दाबीको विषय बनाउँदै आएको थियो।

हाल जनमत पार्टीले मधेस प्रदेश सरकारमा अर्थ मन्त्रालय पाइसकेको छ र अझै एउटा मन्त्रालय पाउने सहमति रहेको बताइएको छ। त्यस अतिरिक्त मन्त्रालयमा पार्टीले उद्योग मन्त्रालय नै लिनुपर्ने अडान दोहोर्‍याएको छ।

मन्त्रालय भागबन्डामा सहमति नजुटे जनमत पार्टी सरकारबाट बाहिरिने सम्भावना बढ्दै गएको छ। यसले मधेस प्रदेश सरकारको स्थायित्व र सात दलीय गठबन्धनको भविष्यलाई लिएर राजनीतिक तरंग पैदा गरेको छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको