नेपाल–कम्बोडिया अन्तरराष्ट्रिय व्यापार सम्मेलन घोषणा



काठमाडौं , पुस ३ । नेपाल र कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल–कम्बोडिया बी२बी अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुने उक्त कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेएसएम कम्बोडिया) को आयोजनामा तथा नेपालको सिजन मिडियाको व्यवस्थापनमा सम्पन्न हुने जनाइएको छ ।

कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य सङ्घ–संस्था, उड्डयन कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनले नेपाल र कम्बोडियाका व्यवसायी, उद्यमी, कलाकार र नवप्रवर्तकहरूलाई नेटवर्किङ, अनुभव आदानप्रदान तथा दीर्घकालीन सहकार्यका अवसर प्रदान गर्नेछ । कार्यक्रमअन्तर्गत लगानी तथा व्यापारिक भेटघाट, क्षेत्रगत छलफल, व्यापारिक नेटवर्किङ र नीतिगत संवाद सञ्चालन गरिनेछ । पर्यटन तथा आतिथ्य, उड्डयन, कृषि, उत्पादन, रियल स्टेट, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग र डिजिटल नवप्रवर्तन जस्ता उच्च सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानीका अवसर पहिचान गरिनेछ ।

गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लालसिंह खड्काका अनुसार यस सम्मेलनले द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सम्मेलनको विशेष आकर्षणका रूपमा आर्थिक विकास, नवप्रवर्तन र द्विपक्षीय सहकार्यमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मान गरिनेछ ।

कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ ले केवल व्यापारिक भेटघाट मात्र नभई दीर्घकालीन साझेदारी, जनस्तरको सम्बन्ध विस्तार र साझा समृद्धिको आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको