जनकपुरधाम, पुस ५ । मधेस प्रदेशको सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ।
प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेकी हुन्। प्रदेश सभा सचिव वासु कोइरालाद्वारा सार्वजनिक कार्यतालिकाअनुसार सभामुख पदका लागि उम्मेदवारी दिन चाहने प्रदेश सभा सदस्यले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
दर्ता भएका उम्मेदवारको नामावली सोही दिन दिउँसो ३स्३० बजे दर्ता क्रम अनुसार प्रकाशन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।
सार्वजनिक सूचीका आधारमा ६ पुस दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्। उम्मेदवारीमाथि सामूहिक छलफलपछि दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका तय गरिएको छ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि सभामुख रहेका रामचन्द्र मण्डललाई प्रदेश सभा सदस्यहरूले पदअनुकूल आचरण नगरेको आरोपमा पदबाट हटाएपछि नयाँ सभामुख निर्वाचन हुन लागेको हो। हालसम्म दलहरूबीच भएको सहमतिअनुसार सत्ता पक्षबाट जसपा नेपालले सभामुख पद पाउने बताइएको छ।






