काठमाडौं , पुस ६ । मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। तीमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ। सरुवा हुनेमध्ये ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत रहेका छन्।
गृह मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा हुने सहसचिवहरूमा गोपालप्रसाद अर्याल, डा. टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र रहेका छन्।
सरुवा हुनेमध्ये डा. पाण्डेय(लमजुङ), श्रेष्ठ (खोटाङ), नेपाल (इलाम), सुवेदी (सल्यान), रिसाल (दोलखा), बास्तोला (सिन्धुपाल्चोक), लम्साल(नवलपरासी पश्चिम)र मिश्र(बारा) मा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको सन्दर्भमा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन र निर्वाचनको वातावरण निर्माण गर्ने प्रमुख जिम्मेवारी सीडीओको हुन्छ। तर मन्त्रिपरिषद्ले एकैपटक ८ प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि चार दिनसम्म ती जिल्लामा नयाँ सीडीओलाई जिम्मेवारीसहित पठाइएको छैन, जसले प्रशासनिक निरन्तरतामाथि प्रश्न उठाएको छ।
नयाँ प्रमुख जिल्ला अधिकारी कहिले पठाइन्छ भन्ने प्रश्नमा गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रतिक्रिया दिन चाहेनन्। उनले भने, “पछि कुरा गरौँला।”
यसै सरुवामा कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्राद शर्मा र विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजाल पनि गृह मन्त्रालयबाट बाहिरिएका छन्। साथै अतिरिक्त समूह (जगेडा)मा रहेका शंकरहरि आचार्य, गोपालप्रसाद अर्याल र खिमबहादुर रायमाझीको समेत सरुवा भएको छ।
यस सरुवासँगै गृह मन्त्रालयबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन्। अन्य मन्त्रालय तथा निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल गृह मन्त्रालयमा सरुवा भएर आएका छन्।




