काठमाडौं, पुस ७ । सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा सोमबार जेन–जी समूहले प्रदर्शन गरेको छ। प्रदर्शनमा मिरज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवाहरू सहभागी भएका थिए।
उनीहरूले नाराबाजी गर्दै “चुनाव होइन, सुशासन” भन्ने नारासहित सर्वपक्षीय सरकार गठनको माग राखेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले अस्थायी रूपमा नियन्त्रणमा लिएको पनि जनाइएको छ।
यसअघि जेन–जी समूहले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेको थियो। तर प्रशासनले अनुमति नदिँदा, समूहले अनाधिकृत रूपमा प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेका थिए। प्रदर्शन अझै जारी छ र माइतीघर क्षेत्रमा प्रदर्शनकारीहरूको उपस्थिति कायम छ।
प्रदर्शनका कारण माइतीघर आसपासका सडकमा ट्राफिक प्रभावित भएको छ र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनका केही दृश्यहरू चन्द्रबहादुर आले र कौशल काफ्लेले कैद गरेका छन्।




