काठमाडौँ, पुस ७ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित कुल ६९ निवर्तमान सांसदले हस्ताक्षर पूरा गरेका छन्। ती हस्ताक्षरसहितको पूरक रिट भोलि(मंगलबार) सर्वोच्च अदालतमा वारेस मार्फत दर्ता गरिनेछ। पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिइएको हो।
कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सांसदहरूमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।
यसअघि एमालेका ७५ निवर्तमान सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका थिए। प्रतिनिधिसभा पुनर्स्थापनाका लागि बहुमतका लागि आवश्यक १३८ सांसदभन्दा बढी, अर्थात् दुई दलका १४३ सांसदको हस्ताक्षर अब सर्वोच्चमा पेश हुनेछ।
कांग्रेस र एमालेको बुझाइ अनुसार बहुमत सांसदको मागसहित रिट पेश भएपछि प्रतिनिधिसभा पुनः स्थापना गर्न प्रक्रिया सहज हुने देखिएको छ। रिटमा भदौ २३–२४ को जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै संसदभित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन परमादेशको माग गरिएको छ।




