डेंगुभन्दा घातक जापानी इन्सेफलाइटिस : संक्रमित तीनमध्ये एकको मृत्यु



काठमाडौं , पुस  ८ । नेपालमा डेंगुभन्दा अझै घातक मानिने जापानी इन्सेफलाइटिस(जेई) को संक्रमण र मृत्युदर चिन्ताजनक रूपमा बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पछिल्लो एक वर्षमा यो रोगबाट संक्रमितमध्ये करिब ३३ प्रतिशतको मृत्यु भएको छ ।

शाखा प्रमुख डा। अभियान गौतम का अनुसार गत पुसदेखि हालसम्म १७९ जनामा जापानी इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ, जसमा ३५ जनाको मृत्यु भइसकेको छ । सन् २०२३ मा ७ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो संख्या बढेर २५ पुगेको छ । विज्ञहरूका अनुसार प्रत्येक तीन संक्रमितमध्ये एक जनाको मृत्यु, एक जना अपांगता बोकेर जीवन बिताउन बाध्य हुने र एक जना मात्र सामान्य अवस्थामा फर्कने अवस्था देखिएको छ ।

जापानी इन्सेफलाइटिस भाइरसजन्य रोग हो, जुन क्युलेक्स जातको लामखुट्टे मार्फत सर्छ । यो लामखुट्टे विशेषगरी बिहान र बेलुका सक्रिय हुने गर्छ । संक्रमित सुँगुर र चराचुरुङ्गीबाट लामखुट्टे स्वयं संक्रमित भई मानिसमा रोग सार्ने गर्दछ ।

संक्रमणको जोखिम तराई क्षेत्रमा बढी देखिएको छ । तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५५ संक्रमित देखिएका छन् भने ११ जनाको मृत्यु भएको छ । जिल्लागत रूपमा चितवन उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा नेपालमा जेईको जोखिम ४० वर्षमाथिका व्यक्तिमा बढी देखिन थालेको छ, जुन विश्वका अन्य मुलुकभन्दा फरक ढाँचा हो । संक्रमितमध्ये ९१ प्रतिशतले खोप नलगाएको पाइएको स्वास्थ्य विभागको तथ्यांक छ ।

जेईको प्रभावकारी उपचार नहुँदा खोप नै मुख्य सुरक्षा उपाय हो । नेपालमा शिशुलाई १२ महिनाको उमेरमा यो खोप दिइँदै आएको छ । साथै लामखुट्टे नियन्त्रण, सरसफाइ, झुलको प्रयोग तथा सुँगुर र हाँसका खोर घरबाट टाढा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार समयमै उपचार र सावधानी अपनाउन सके जापानी इन्सेफलाइटिसबाट हुने ज्यानको क्षति घटाउन सकिन्छ ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको