अनुगमनका लागि सरकारी टोली कांग्रेस पार्टी कार्यालय पुग्यो



काठमाडौं पुस ८ । सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिको टोली जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालय मा अनुगमन गर्न सानेपास्थित कार्यालयमा पुगेको छ ।

टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरूसँग छलफल समेत गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहितको टोलीले अनुगमनको काम अघि बढाएको हो ।

सरकारी टोलीले आजै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलका कार्यालयहरूको पनि अनुगमन गर्ने कार्यक्रम तय गरेको छ ।

गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा देशभर विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो । यसमा कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरू प्रभावित भएका थिए ।

सरकारी टोलीले अनुगमन रिपोर्ट तयार गरी सरकारलाई बुझाउने र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न उपाय सुझाउने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार यो अनुगमनले राजनीतिक दुरुपयोग र हिंसा नियन्त्रणमा सरकारको कदमको संकेत दिनेछ भने दलहरूलाई पनि भविष्यमा शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न उत्प्रेरित गर्न सक्ने छ ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार १२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको