एजेन्सी, पुस ९। लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले उक्त दुर्घटनामा अल–हद्दादको निधन भएको पुष्टि गरेका हुन् ।
प्रधानमन्त्री दबेइबाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रले एक जिम्मेवार, अनुभवी तथा देशको सुरक्षा व्यवस्थामा महत्वपूर्ण भूमिका खेलेका सैन्य नेतालाई गुमाएको बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
प्राप्त जानकारीअनुसार जनरल अल–हद्दाद अन्य चार जनासहित मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन–५० प्रकारको निजी विमानमा सवार थिए । उक्त विमान अंकाराबाट उडेपछि केही समयमै सम्पर्कविहीन भएको थियो । पछि विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिमी क्षेत्रमा फेला परेको टर्कीका अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । टर्कीको नागरिक उड्डयन प्राधिकरण तथा सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ । बीबीसीका अनुसार मौसम, प्राविधिक समस्या वा अन्य कारणले दुर्घटना भएको हो कि भन्ने विषयमा अध्ययन भइरहेको छ ।
जनरल अल–हद्दाद लिबियाको सैन्य संरचनामा प्रभावशाली व्यक्तित्व मानिन्थे । उनले लामो समयदेखि देशको सुरक्षा र स्थायित्वका लागि काम गर्दै आएका थिए । हाल लिबिया राजनीतिक अस्थिरता, सशस्त्र समूह र सुरक्षा चुनौतीको सामना गरिरहेको अवस्थामा उनको निधनलाई गम्भीर क्षतिका रूपमा हेरिएको छ ।
यस दुर्घटनापछि लिबिया र टर्की दुवै देशमा शोकको वातावरण छ । अन्तर्राष्ट्रिय समुदायका विभिन्न नेताहरूले पनि अल–हद्दादको निधनप्रति दुःख व्यक्त गरेका छन् ।






