काठमाडौं, पुस ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आसन्न प्रतिनिधिसभा निर्वाचनमार्फत दलीय राजनीतिमा सक्रिय हुने भएका छन् । उनले वैकल्पिक शक्ति निर्माणका लागि राजनीतिमा सक्रिय नेता, अभियन्ता, उद्यमी–व्यवसायी, सञ्चारकर्मी र जेन–जी अगुवासँग तीव्र भेटघाट गरेका छन्। सहभागी सबैलाई उनले संसदीय राजनीतिमा होमिएको स्पष्ट सन्देश दिएका छन्।
बालेन देश विकास पार्टीमार्फत निर्वाचनमा भाग लिन तयारी गरिरहेका छन्। निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टीको चुनाव चिह्न लौरो हो। पहिले यो पार्टी अनन्तराज घिमिरेको नाममा थियो, तर हाल सन्ध्या खनाल नेतृत्वमा रहँदै आएको छ। बालेनको सचिवालयका अनुसार, “विकल्पका रूपमा विभिन्न पार्टी दर्ता भएका थिए, तीमध्ये लौरो चुनाव चिह्न भएकाले यसलाई प्राथमिकता दिइएको हो। अहिले गृहकार्य जारी छ।”
समानुपातिक उम्मेदवारको सूची बनाउन बालेनले गृहकार्य गरिरहेका छन्। मेयरमा उम्मेदवारी दिने पूर्वसाथी कुमार बेनसँग ललितपुर ज्वागलस्थित घरमा बुधवारदेखि बिहीबारसम्म भेटघाट भएका थिए।
बालेनले चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, जनमत पार्टी अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी, राप्रपा नेता ज्ञानेन्द्र शाही लगायतसँग भेट गरेका थिए। उनी पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट निर्वाचित पूर्वसांसद रमेश पौड्याल, अभियन्ता सागर ढकाल, सञ्चार उद्यमी सम्भव सिरोहिया, व्यवसायी सचिन ढकाल, जेन–जी अभियन्ता रक्षा बम र केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलालसँग पनि छलफल गरेका थिए।
जनमत पार्टी अध्यक्ष राउतले बालेनले एउटै पार्टी बनाएर अघि बढ्ने प्रस्ताव राखेको बताए। पूर्वसचिव उपाध्यायले पनि बालेन संसदीय चुनावमा जाने संकेत दिएका बताए।
बालेनले रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, कांग्रेस पूर्वसांसद सुनील शर्मा, नेता अमरेश सिंह, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतसँग भेटघाट गरी वैकल्पिक शक्ति निर्माणका विषयमा छलफल गरेका छन्।
जेन–जी अभियन्ता समूहसँगको भेटमा बालेनले “२५ वर्ष उमेर पुगेकाहरू केन्द्रमा चुनाव लडौं, अरूले सहयोग गरेर प्रदेश र स्थानीय चुनावमा लड्न सक्छन्” भन्दै नयाँ पार्टीमार्फत अग्रसर हुने स्पष्ट संकेत दिएका छन्।
साथै उनले अन्य वैकल्पिक शक्तिलाई एकठाउँमा ल्याएर साझा अग्रगामी मोडालिटी निर्माण गर्ने गृहकार्य गरिरहेका छन्।




