काठमाडौँ, पुस १२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ। अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको घटनाको विरोधमा पार्टीले चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले सरकारको दमनकारी रवैयाको विरोधस्वरूप संघर्षमा उत्रिने निर्णय गरेको जनाइएको छ। पार्टीका अनुसार जनकम्युनमाथि गरिएको प्रहरी छापा राजनीतिक प्रतिशोध र जनअधिकारमाथिको हस्तक्षेप भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्न संघर्षका कार्यक्रम तय गरिएको हो।
घोषित कार्यक्रमअनुसार पुस १२ गते देशव्यापी रूपमा मसाल जुलुस निकालिनेछ। त्यसैगरी पुस १३ गते देशभर कोणसभा आयोजना गरिने, पुस १४ गते विरोध प्रदर्शन गरिने र पुस १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ।
नेकपा(माओवादी) ले जनताको अधिकार, स्वाधीनता र वैकल्पिक राजनीतिक धारमाथि भइरहेको दमनको अन्त्य नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएको छ। पार्टीले शान्तिपूर्ण तर सशक्त आन्दोलनमार्फत सरकारको ध्यानाकर्षण गराउने रणनीति लिएको जनाएको छ।
पार्टीका नेताहरूले जनकम्युनजस्ता सामूहिक उत्पादन र समाजवादी अभ्यासका केन्द्रमाथि गरिएको हस्तक्षेपले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने आरोप लगाएका छन्। उनीहरूले सरकारलाई दमनकारी नीति त्यागेर संवादको बाटो अपनाउन आग्रहसमेत गरेका छन्।
नेकपा (माओवादी) ले घोषित कार्यक्रमहरूमा आम नागरिक, श्रमिक, किसान, युवा तथा परिवर्तनकामी शक्तिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। पार्टीका अनुसार संघर्षका कार्यक्रमले देशको वर्तमान राजनीतिक अवस्था, जनअसन्तुष्टि र वैकल्पिक राजनीतिक आवश्यकता बारे व्यापक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।




