मधेश केन्द्रित तीन राजनीतिक दलका अध्यक्ष एउटै क्षेत्रबाट सिफारिस, अन्यौलमा मतदाता

सप्तरीमा धमाधम उम्मेदवार सिफारिस गर्दै दलहरु


मनोज माझी
सप्तरी, पुस १२ । सरकारले अगामी २१ फागुनका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले तयारी तिव्र पारेका छन् । यस क्रममा नयाँ दर्ता भएका दल सहित पुराना राजनीतिक दलले निर्वाचनमा सहभागि हुन उम्मेदवार छनौटको प्रक्रियालाई तिव्रता दिएका छन् ।

प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फबाट उम्मेदवार छान्नका लागि अधिकाँश राजनीतिक दलले जिल्लाका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरी सकेका छन् भने बाँकी रहेका दल पनि उम्मेदवार छनौट तथा सिफारिस कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा राष्ट्रिय मुक्ति पार्टीले पार्टी अध्यक्ष राजेन्द्र महतो सहित चार जनाको नाम क्षेत्र नं. २ बाट सिफारिस गरेको छ । महतोको पहिलो नम्बरमा तथा महासचिव केशव झा, संविधानसभा सदस्य महेश यादव र रिणा झालाई क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा नाम राखी सिफारिस गरिएको छ ।

यस्तै सो पार्टीले ३ नम्बर क्षेत्रबाट पूर्व सांसद चन्द्रकान्त चौधरी तथा युवा नेता गजेन्द्र मण्डलको नाम सिफारिस गरेको छ भने बाँकी २ क्षेत्रमा उम्मेदवार सिफारिसको कार्य ३÷४ दिनमै टुंग्याइने जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।

गत प्रतिनिधिसभाको निर्वाचनमा २ नं. क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत निर्वाचित भएका थिए । राउतले जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गरेका थिए । जनमत पार्टीले यसपल्ट पनि २ नं. क्षेत्रबाट डा. राउतको एकल नाम सिफारिस गरेकोछ । जिल्ला इन्चार्ज रामगमन साहका अनुसार डा. राउतको जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । अन्य क्षेत्रबाट पहिलो नम्बरमा डा. राउत तथा दोस्रो, तेस्रो र चौथोमा अन्य आकाँक्षीको नाम सिफारिस भई आए पनि २ नं. क्षेत्रबाट उनको नाम एकल सिफारिस भएको उनको कथन छ ।

यता जसपा नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवको २ नं. क्षेत्रबाट एकल नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष केदार यादवका अनुसार क्षेत्र नं. २ को शुक्रवार अबेर रातिसम्म चलेको क्षेत्रीय भेलाले उनको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य क्षेत्रको भेला पनि दुई÷तीन दिन भित्रै सम्पन्न हुने र ती क्षेत्रहरुबाट समेत पार्टी अध्यक्ष यादवको नाम उम्मेदवारका लागि सिफारिस भई आउने सम्भावना रहेको उनको भनाई छ ।

सप्तरी, जनमत अध्यक्ष डा. सि.के राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको गृह जिल्ला हो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो भने सर्लाहीका हुन् । तीनवटै पार्टीका क्षेत्र र जिल्ला तहबाट भएको सिफारिस कार्यान्वयन भए यस पल्ट सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा त्रिकोणिय र रोचक प्रतिस्पर्धा मात्र नभई सबैको ध्यान तान्ने छन् । अन्तिम क्षण सम्म कुनै सहमति नभए सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा तीन दलका राष्ट्रिय अध्यक्षहरुको रोचक भिडन्त हुने विशलेषकहरु बताउछन् ।

मधेशवादी दलका पुराना नेता÷कार्यकर्ता तथा मदाताले भने तीनैजना नेतालाई एकआपसमा प्रतिस्पर्धा नगरी जिल्लाको अर्को तथा फरक फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् । मधेश आन्दोलनको मर्मलाई बुझ्न पनि तीनवटै दलका अध्यक्षलाई फरक–फरक निर्वाचन क्षेत्र रोज्नु पर्ने उनीहरुको तर्क छ ।

यता फागुन २१मा हुने निर्वाचनका लागि अन्य दलहरुले पनि बैठक गरी धमाधम उम्मेदवारको सिफारिस गरी रहेका छन् ।

नेपाली काँग्रेसले क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ रामदेव साह, शत्रुधन प्रसाद यादव, दुर्गा प्रसाद भट्टराई, लक्ष्मी देवी यादव, दिपक कुमार गुप्ता तथा क्षेत्र नं. २ बाट ध्ुव देव, डा. अनिल झा, रंजित कर्ण, राम कुमार यादव, शैलेन्द्र मण्डल, प्रवीण सिंह र अम्बुज सिंहको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट दिनेश कुमार यादव, शिव नारायण चौधरी, श्री प्रसाद राउत र नवोदित चौधरी तथा क्षेत्र नं. ४ बाट किरण भगत, तेजुलाल चौधरी, अशोक साह र सुरेन्द्र यादवको नाम सिफारिस गरिएको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।

नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले एमालेको उम्मेदवारको सिफारिस कार्य पौष २६ पछि गरिने जानकारी दिएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी, लोसपा नेपाल, उज्यालो नेपाल पार्टी, नेपाली जनता पार्टी, लगायतले पनि तीन चार दिन भित्रै उम्मेदवारको टुंगो लगाइने जानकारी गराएका छन् ।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको