काठमाडौँ ,पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पार्टी सभापति रवि लामिछानेपछिको वरीयता मा रहने भएका छन् । आइतबार बिहान रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै पार्टीभित्र बालेनको भूमिकाबारे स्पष्ट संकेत देखिएको हो ।
सहमति अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने र निर्वाचनपश्चात् संसदीय दलको नेताको जिम्मेवारी दिने उल्लेख छ । यद्यपि सहमतिपत्रमा बालेन शाह पार्टीको औपचारिक संरचनामा कुन पदमा रहने भन्ने विषय भने खुलाइएको छैन ।
बालेन निकट स्रोत केपी खनालका अनुसार बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने सहमति भएको छ । “भावी प्रधानमन्त्रीको उम्मेदवार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा सभापति रवि लामिछानेपछिको दोस्रो वरीयतामा रहनुहुन्छ,” खनालले बताएका छन् । उनका अनुसार बालेन शाहले वार्ताका क्रममा कुनै पदको माग नगरेको र देशलाई निकास दिने उद्देश्यसहित सहमति भएको हो ।
सहमति कार्यान्वयनपछि रास्वपाको संगठनात्मक संरचना थप सुदृढ र फराकिलो बनाउने विषय पनि उल्लेख गरिएको छ । पार्टीमा युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने सहमतिमा उल्लेख छ ।
तर केन्द्रीय समितिमा बालेन पक्षबाट कति जना र को–को सहभागी हुने भन्ने विषय भने हालसम्म खुलाइएको छैन । राजनीतिक विश्लेषकहरूका अनुसार बालेन–रवि सहमतिले रास्वपाको आगामी राजनीतिक रणनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ । विशेषगरी शहरी युवा मतदातामाझ पार्टीको प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ ।
यस सहमतिलाई नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा समेत हेरिएको छ ।




